काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले सीमावर्ती क्षेत्रबाट काठमाडौं उपत्यकामा खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्ने गिरोहमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले असोज २ देखि ५ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट १४८.७६० ग्राम खैरो हेरोइन र नगद तीन लाख २० हजार रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका-१ का २० वर्षीय निकेश यादव, सप्तरीकै सुरुङ्गा गाउँपालिका-६ का २६ वर्षीय अञ्जनी नन्दन चौधरी र सिरहाको लहान नगरपालिका–१५ का २३ वर्षीय सुसान्त चौधरी रहेका छन्।
यसैगरी रसुवाको कालिका गाउँपालिका-५ का ३३ वर्षीय सुवास बर्देवा, सप्तरीको राजविराज नगरपालिका-८ का २७ वर्षीय चन्दन यादव र सप्तरीकै छिन्नमस्ता गाउँपालिका-३ का २९ वर्षीय विक्रम कुमार शर्मा पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका-८ का ४० वर्षीय कालु सिंह मगर र सुनसरीकै हरिनगर गाउँपालिका-१ का ३७ वर्षीय पवन दास पनि पक्राउ परेको ब्युरोले जनाएको छ।
तराजु र मोबाइल पनि बरामद
प्रहरीले उनीहरूबाट खैरो हेरोइन र नगदसँगै पाँचवटा डिजिटल तराजु तथा आठवटा मोबाइल फोन बरामद गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको छ।






