काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुचारु गर्ने क्रममा एक हप्ताअघि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो । हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको छ । लिपिङ क्षेत्रमा पहिरोका कारण १० देखि १२ वटा घरहरू उच्च जोखिममा रहेका उनले बताउनु भयो । डिभिजन प्रमुख भण्डारीले सडकलाई पूर्ण रूपमा सुचारु गर्ने काम भइरहेको जानकारी दिए ।
उनले भने, ‘आज हामीले करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी पहिरो, जसलाई ठूलो पहिरो पनि भनिन्छ, यो खोल्न सफल भएका छौँ ।’
लिपिङमा जारी कार्य सम्पन्न भएलगत्तै सीमा क्षेत्रसम्मकै यातायात पूर्ण रूपमा सुचारु हुने उहाँको भनाइ छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी झन्डै डेढ महिनापछि पुनः सञ्चालनमा आउने तयारीमा पुगेको छ । अविरल वर्षापछि आएको पहिरोका कारण कोदारी राजमार्गको विभिन्न खण्ड अवरुद्ध भएपछि गत साउनदेखि यो नाका बन्द रहेको थियो ।
लिपिङमा पहिरोले सडकमुनिको जमिन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ ।






