काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भिआइपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनै पनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्र (फिल्ड) मा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पारे । उनले कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरेको खण्डमा पनि सुरक्षा वा अन्य कुनै पनि सुविधाको चिन्ता नलिन र प्रशासनलाई आफ्नो काममा बाधा नपुर्याउन आग्रह गरेका छन् ।
लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवाको सहजताका लागि सरकारले चालेको कदमको स्वागत गरे । टेलिफोनमा ब्यालेन्स नहुँदा पनि कुराकानी गर्न मिल्ने र डाटा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले प्राप्त गरेको उनले बताए ।
उनले भने, ‘विपद्का बेला भिआइपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ । म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन, हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन । सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस् । हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ । हामी व्यक्तिगत तवरबाट जानेछौँ र प्रशासनको काममा कुनै दखल अन्दाज हुने छैन । विपद् पर्दा सबैभन्दा अप्ठ्यारो सीमान्तकृत र अल्पसङ्ख्यक वर्गलाई पर्दछ । तथ्यांकले पनि महिला, वृद्ध वृद्धा र दलित समुदायमा यसको गहिरो प्रभाव परेको देखाउँछ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’
लामिछानेले विपद्को समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी मारमा पर्ने तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराए ।
विशेष गरी महिला, गर्भवती, वृद्ध वृद्धा, अपांगता भएका व्यक्ति र दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै राहत र उद्धारमा ती वर्गलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।






