काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव परीक्षण तथा पहिचानका लागि चितवनस्थित भरतपुर अस्पतालमा राखिएको छ ।
बाढीमा परेर शरीर अंगभंग तथा क्षतविक्षत भएको अवस्थामा फेला परेका शवहरूलाई अस्पतालमा ल्याइएसँगै मृतकका आफन्तहरू पहिचान र बुझिलिन अस्पताल पुग्ने क्रम शुरु भएको छ । बुधवार बिहान भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीले व्यापक मात्रामा भौतिक संरचनाहरू समेत ध्वस्त पारेको छ ।
प्राप्त पछिल्लो विवरणअनुसार यस प्राकृतिक विपत्तिमा परी नेपालतर्फ ९ सयभन्दा बढी नागरिकहरू बेपत्ता भएका छन् । यस्तै, छिमेकी मुलुक चीनका ५ सय ५८ नागरिक पनि बेपत्ता भएको जानकारी प्राप्त भएको छ । हालसम्म २ सय ८८ जनाको शव फेला परिसकेको छ । बाढी प्रभावित क्षेत्रहरूमा अहिले पनि सुरक्षाकर्मी र उद्धार टोलीहरूद्वारा बेपत्ताहरूको खोजी तथा प्रभावितको उद्धार कार्य तिब्र रूपमा जारी रहेको छ ।






