काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा-त्रिशूली करिडोरमा आएको बाढीबारे चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोप मिथ्या र अफवाह मात्र भएको बताएका छन्।
शुक्रबार प्रतिक्रिया दिँदै उनले नेपाल र चीनबीचको सम्बन्धमा असर पर्ने गरी यस्तो अफवाह फैलाइएको दाबी गरे। बाढीका विषयमा चीनसँग पूर्वसूचना भए पनि नेपाललाई उपलब्ध नगराएको आरोप लगाउनु उचित नभएको उनको भनाइ छ।
रेग्मीले हिमालय क्षेत्रमा प्राकृतिक रूपमा हुने हिम पहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थान पहिल्यै निर्धारण गर्न सम्भव नहुने बताए। निरन्तर निगरानी हुने सगरमाथामा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएका घटना उल्लेख गर्दै उनले निगरानी नभएका हिमाली क्षेत्रमा कहाँ र कहिले घटना हुन्छ भन्ने पूर्वसूचना दिन कठिन हुने जिकिर गरे।
उनले विगतमा नेपालभित्र भएका विभिन्न प्राकृतिक विपद्का घटनामा समेत पूर्वसूचना दिन नसकिएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा अपुष्ट सूचना र अफवाह फैलाउने क्रम देखिएको भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे।
हिमनदी, हिमताल र प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभाबी टिप्पणी नगर्न आग्रह गर्दै रेग्मीले सञ्चारमाध्यमलाई ग्ल्यासियोलोजी तथा सम्बन्धित क्षेत्रका विज्ञसँग मात्र धारणा लिन सुझाव दिएका छन्।






