काठमाडौँ । विगत तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड अन्तत: सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो ।
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न र चुनौतीपूर्ण रहेको बताए।
उनले भने, ‘सामान्यतया सडक अवरुद्ध भएको २ देखि ४ घण्टाभित्र खुलाउने हाम्रो अनुभव र कार्यतालिका हुने गर्थ्यो, तर यसपटक सडकमा जम्मा भएको पाँगो माटो बाहिरबाट हेर्दा ठोस देखिए पनि मेसिनले चलाउनासाथ लेदो (पेस्ट) मा परिणत हुने प्रकृतिको थियो । बस्तीका कारण निकासको अभाव र मेसिनरी उपकरण पुर्याउने देखिएको कठिनाइका बाबजुद तीन दिनको निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौँ ।’
सडक खुलाउन निर्माण व्यवसायी, सुरक्षा निकाय, स्थानीय सरकार र सर्वसाधारणले संयुक्त रूपमा श्रम र साधन परिचालन गरेका थिए ।
सुरक्षा संवेदनशीलता र मौसमसम्बन्धी प्रतिकुल सूचनाका कारण बीचमा केही घण्टा काम स्थगित गर्नुपर्दा सडक सञ्चालनमा केही ढिलाइ भएको विभागले जनाएको छ । हाल पहिलो चरणमा राजमार्गमा अलपत्र परेका र अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ । सडक विभागले अझै पनि जोखिम कायमै रहन सक्ने भन्दै आम सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।






