काठमाडौँ । भीरको मुखमा अड्किएका घरहरू र आँशुमा डुबेका स्थानीय बासिन्दा । भदौ १० गते उर्लिएको भोटेकोशी बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याँफ्रुबेंसीलाई क्षतविक्षत बनाएको छ । स्याँफ्रुबेंसीमा भोटेकोशीको अभूतपूर्व कटान छ । नदीको तिब्र धारले दायाँबायाँका पहाडी स्लोपको जग नै उधिनेपछि हरियाली खेतबारी, पक्की घर र पासाङ ल्हामु राजमार्ग भग्नावशेषमा परिणत भएका छन् ।
भदौ १० गते स्याँफ्रुबेंसीका बासिन्दाका लागि केवल एउटा सामान्य थिएन । त्यो थियो जीवनभरको पसिना, सपना र थातथलो क्षणभरमै बालुवा र बगरमा विलीन भएको कालो प्रहर । मुसलधारे वर्षासँगै हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेन, वर्षौंदेखि जोडेको मानव बस्तीको भूगोल नै नामेट पारिदियो ।
माथिबाट खसेका विशाल चट्टान, लेदो, ग्रेगर र रुखका ठुटासहित आएको बाढीले नदी किनारका खेतबारी, होटेल, पक्की तथा कच्ची घरहरू र बाटोघाटोलाई एकै गाँसमा निलेको छ । अहिले स्याँफ्रुबेंसी बजार खैरो लेदो, ढुङ्गा र बालुवाको अनकन्टार मरुभूमिमा परिणत भएको छ । स्याँफ्रुबेंसी बजारको तल्लो भूभाग पूर्णतया बगरमा रूपान्तरण भएको छ भने नदीको सतह सामान्यभन्दा धेरै माथिसम्म उक्लिएर दायाँबायाँको भीर कटान गरेको देखिन्छ ।
त्यहाँको दृश्य मुटु नै काम्ने खालको छ । भोटेकोशीको दुवै किनारामा रहेका विशाल पहाडी भित्ताहरू नदीको तिब्र कटानका कारण ठाडो खोंचमा परिणत भएका छन् । नदीले दायाँबायाँको जमिनको जग नै उधिनेपछि पासाङ ल्हामु राजमार्गको धुञ्चे–स्याँफ्रुबेंसी खण्ड दर्जनौँ स्थानमा पूरै बगेको छ । सडकमा ठुलाठुला ढुङ्गा, लेदो र भलपानी जमेको छ ।
पहाडबाट खसेको पहिरोले पैदल हिँड्ने गोरेटो बाटोसमेत बाँकी राखेको छैन । नदी किनारमा बाढी नियन्त्रणका लागि बनाइएका ग्याबियन जाली (तारजाली) र कङ्क्रिट पर्खालहरू परालको त्यान्द्रोजस्तै छरपस्ट भएका छन् । यसले गर्दा उत्तरी सीमा रसुवागढी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । घरको छतमा बौद्ध धर्जो (लुङदार) फरफराइरहेका ती हिमाली घरहरू हुन्, जसको ठीक मुन्तिर सयौँ मिटर गहिरो भोटेकोशीको उर्लंदो कटान चलिरहेको छ ।
रातो जस्तापाता र पक्की ढलान गरिएका ती सुन्दर घरहरू अहिले कुनैपनि क्षण नदीमा खस्ने अवस्थामा छन् । घरका भित्ताहरूमा चिरा परेका छन्, आँगन भासिएको छ र तलबाट भोटेकोशीले निरन्तर माटो र चट्टान खोस्रिरहेको छ ।
गाउँलेहरू आफ्ना घरका सरसामान, अन्नपात र गाईवस्तु छोडेर सुरक्षित स्थानतर्फ सरिरहेका छन् । स्थानीय महिला र वृद्धवृद्धाहरू आफ्नो जिन्दगीभरको पसिनाले बनेको बासस्थान भत्किँदै गरेको देखेर भक्कानिएर रोइरहेका छन् । बाढीले सडक मात्र बगाएको छैन, स्याँफ्रुबेंसी र आसपासका बस्तीमा विद्युत् आपूर्ति गर्ने पोलहरू, खानेपानीका पाइपलाइन र अप्टिकल फाइबर नेटवर्कसमेत तहसनहस पारेको छ ।
नजिकका गाउँहरू अन्धकारमा डुबेका छन् । लाङटाङ पदमार्गको प्रमुख प्रवेशद्वार मानिने स्याँफ्रुबेंसीको पर्यटन व्यवसाय र होटेल उद्योग बाढीको चपेटामा पर्दा स्थानीय अर्थतन्त्र वर्षौँ पछाडि धकेलिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्ताहरू आफ्नो ज्यान जोखिममा राखेर भीरपहरा र भोटेकोशीको डिलमा उभिएर क्षतिको आकलन र उद्धार कार्यमा खटिएका छन् ।
भदौ १० गतेको भोटेकोशी बाढी केवल एउटा प्राकृतिक प्रकोप मात्र होइन, यो रसुवाको आर्थिक, पर्यटकीय र सीमा सुरक्षाको मेरुदण्डमाथिको ठूलो प्रहार हो । विपत्तिमा परेका नागरिकलाई केवल सान्त्वना होइन, तत्काल सुरक्षित आवास, खाद्यान्न, औषधी र दीर्घकालीन इन्जिनियरिङ तटबन्धको खाँचो छ । राज्य, निजी क्षेत्र र सम्पूर्ण नागरिक समाजले यस विपत्तिमा स्याँफ्रुबेंसी, टिमुरेको हात समात्न ढिलाइ गर्नु हुँदैन ।











