काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने तर त्यही आन्दोलनमा सहभागी भएर बाँचेका युवामाथि मुद्दा चलाउने अवस्था कसरी न्यायसंगत हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै पाठकले जेन जेड आन्दोलनका घाइते तथा मुद्दा लागेका युवाको उपचार, क्षतिपूर्ति, परिचयपत्र, शिक्षा र दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले झापामा आन्दोलनका घाइतेहरू आफ्ना माग सम्बोधन गर्न भन्दै ६ दिनदेखि आमरण अनशनमा बसेको उल्लेख गर्दै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
पाठकका अनुसार झापामा जेन जेड आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गोपाल सेढाईँ र दिनेश राजवंशीको मृत्यु भएको थियो भने १०८ जना घाइते भएका थिए। घाइतेमध्ये हालसम्म ४३ जनाले मात्रै परिचयपत्र पाएको उनले बताए।
गम्भीर घाइते भएका तथा गोली लागेका युवासमेत उपचार, क्षतिपूर्ति, परिचयपत्र र नि:शुल्क शिक्षालगायत माग राखेर अनशनमा बसेको उल्लेख गर्दै पाठकले उनीहरूको समस्या समाधानमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरे।
उनले जेन जेड आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनका क्रममा मुद्दा लागेका युवालाई आवश्यक संरक्षण र न्यायको प्रत्याभूति दिनुपर्ने बताए।
‘एउटै आन्दोलनमा निधन भएकाहरू शहीद अनि बाँचेकाहरू अपराधी कसरी हुन सक्छन् ?’ भन्दै पाठकले सरकारसँग प्रश्न गरे। उनले आन्दोलनका क्रममा घाइते भएका र मुद्दा खेपिरहेका युवाले न्याय पाउने वा नपाउने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।
‘जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर मुद्दा लागेका युवालाई सरकारले ढाडस दिन किन सकिरहेको छैन ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
पाठकले घाइते तथा मुद्दा लागेका युवाको समस्या समाधानलाई तत्काल प्राथमिकतामा राख्दै उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको व्यवस्था गर्नसमेत माग गरेका छन्।






