पोखरा । गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको जनाएको छ ।
जेठ ११ गते सुरु भएको दशौँ अधिवेशन करिब तीन महिनापछि अन्त्य भएको हो ।
बजेट अधिवेशनका रूपमा सुरु भएको यस अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्त्वपूर्ण कानुन निर्माणको काम पनि अघि बढेको थियो ।संविधानको धारा १८३ को उपधारा (२) ले प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले दशौँ अधिवेशन अन्त्य गरेका हुन् । रासस






