काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएकी छिन् ।
बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरे पनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएकी हुन् । उनले विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरुसंगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको बताइन् । जलविद्युत आयोजनाको टनेलभित्र मानिस अझै उद्धार गर्न नसकिएको उनको भनाई छ । टनेल निर्माणका क्रममा तयार भएका नक्शा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भए पनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उनले बताइन्। सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उनले आरोप लगाइन् ।
टनेल बाहिर भएका साइड–साइडका मान्छेहरू उद्धार गरे पनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उनले बताइन् । त्रिशूली–३ ए आयोजनाको टनेलभित्र अझै मानिस जीवित मानिस हुनसक्ने भन्दै उनले उद्धारको प्रयास जारी राख्नुपर्ने बताइन् । उनले विपद्का बेला विदेशी सहयोग लिन गाह्रो मान्न नहुनेमा पनि जोड दिइन् । सरकारले नागरिकको उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्न नसकेको पनि आरोप लगाइन् । उनले सरकारले स्थानीय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धार गर्न पनि नदिएको आरोप लगाइन् ।
उनले भनिन्, ‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति गर्यौँ । त्यसका लागि खासै कुनै कम्प्लेन पनि छैन । त्योभन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन, सीमित स्रोत–साधनका बीच ती दुई दिनमा हामीले गर्न सक्ने काम गर्यौँ । तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौँ र हतोत्साहित अवस्थाबाट पनि बाहिर आइसकेका थियौँ । त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ । चुकेकोलाई चुकेको भन्नै पर्छ । बाहिर मिडियामा होस् वा यहाँ अगाडि, हामीले त्यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ, हामी चुकेकै हौँ । किनभने ती टनेलहरू निर्माण नक्साहरू हामीसँग पनि थिए होलान् । तर प्राविधिक टोलीहरू तत्कालै टनेलको वरिपरि पनि पुग्न सकेनन् । बाहिर के भ्रम फैलाइएको थियो भने धेरै टनेलबाट यति जना मानिस निकालियो, उति जना मानिस निकालियो भन्ने । तर अहिलेसम्म कुनै पनि टनेलभित्र पसेको मानिस निकालिएको छैन । यहाँ उपस्थित माननीयज्यूहरू र मिडियाका साथीहरूमध्ये कसैले भनिदिनुस्, कुन टनेलभित्र मानिसहरू पुगेर उद्धार गरिएको हो रु टनेल बाहिर, साइड–साइडमा भएका मानिसहरूलाई हामीले उद्धार गरेका हौँ, त्यो ठिक हो । तर हामीले कुनै पनि टनेल खोल्न सकेका छैनौँ र अहिलेसम्म कुनै टनेलभित्र पनि मानिस पुग्न सकेको छैन । अहिले त्रिशूली–३ ए को कुरामा पनि हाम्रो दैलेखका पाँच जनामध्ये दुई जना त्यहाँभित्र हुनुहुन्छ भन्ने आशङ्का छ । त्रिशूली–३ ए भित्र अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा हामीले राखेका छौँ । किनभने विद्युत् प्राधिकरणका कर्मचारीहरूले त्यहाँ सुरक्षित रूपमा बस्न सकिने ठाउँ रहेको बताइरहनुभएको छ । हामी त्यही आशमा बसिरहेका छौँ कि त्यहाँ जति जना हुनुहुन्छ, उहाँहरू सुरक्षित हुनुहुन्छ होला । तर आजसम्म पनि हामी त्यहाँसम्म पुग्न र खोल्न सकिरहेका छैनौँ । किनभने दुई दिन अगाडि नै हामीलाई सहायता चाहिँदैन, विदेशी सहायता चाहिँदैन भनेर एउटा किसिमको धारणा बनाइयो । तर हिजो प्रधानमन्त्रीज्यू आएर प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै हामीलाई झुटो बोल्नुभयो । उहाँले हिजो हामीले विदेशी सहायता लिन्नौँ भनेका छैनौँ भन्नुभयो ।’
उनले राहत पर्याप्त भए पनि वितरणमा समस्या देखिएको बताइन् । कतिपय स्थानमा पूर्वाधार अभावको कारण नै राहत पुग्न नसकेको उनको भनाई छ । उनले प्रभावित क्षेत्रमा विद्युत् तत्काल सुचारु गर्न आवश्यक रहेको पनि बताइन् ।






