काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको एकता कायम गर्दै निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न पाँचवटा प्रस्ताव अघि सारेका छन्।
काँग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केसीले पुरानो र वर्तमान कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्नेदेखि विधानका सम्बन्धित धारा निलम्बन गरी केन्द्रीय कार्यसमितिको संख्या बढाउनेसम्मका प्रस्ताव पेस गरेका हुन्।
केसीको पहिलो प्रस्तावमा विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्यसम्पादन समिति र हालको कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्ने उल्लेख छ।
दोस्रो प्रस्तावमा विधानका सम्बन्धित धारा निलम्बन गरी आवश्यक परामर्शका आधारमा केन्द्रीय कार्यसमितिको संख्या बढाउन सकिने विकल्प प्रस्तुत गरिएको छ।
त्यसरी गठन हुने केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निष्पक्ष महाधिवेशन गराउने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिनुपर्ने केसीको तेस्रो प्रस्ताव छ।
चौथो प्रस्तावमा महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यक थपघट गर्ने अधिकार कार्यसम्पादन समितिलाई दिनुपर्ने उल्लेख छ। कार्यसम्पादन समितिले महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न हुने प्रत्याभूति पनि दिनुपर्ने केसीको प्रस्ताव छ।
पाँचौँ प्रस्तावमा काँग्रेसको १५औँ महाधिवेशन एक महिनापछि सारेर कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन गर्ने मिति सर्वसम्मत रूपमा निर्धारण गर्नुपर्ने उल्लेख छ। निर्धारित कार्यतालिका कुनै पनि बहानामा पुनः नसार्ने गरी सम्बन्धित समितिले पूर्ण प्रतिबद्धता जनाउनुपर्ने प्रस्तावसमेत केसीले राखेका छन्।






