काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा आयोजना गर्ने भएको छ।
पार्टीको महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।
काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन कार्यक्रम खुलामञ्चमा गर्ने निर्णय भएको हो। महाधिवेशनअन्तर्गत बन्द सत्र पनि सोही स्थानमा आयोजना गर्ने विषयमा पार्टीभित्र तयारी भइरहेको बताइएको छ।
यद्यपि, महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने स्थान भने अझै टुंगो लागिसकेको छैन।
यसअघि काँग्रेसले महाधिवेशनको व्यवस्थापनका लागि राष्ट्रिय सभागृहसँग समेत स्थान उपलब्ध गराउन अनुरोध गरेको थियो। पार्टीले असोज १५ देखि २० गतेसम्मका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ क्षेत्र तथा बगैँचा प्रयोग गर्न अनुमति तथा बुकिङको व्यवस्था मिलाइदिन पत्राचार गरेको थियो।
महाधिवेशनको तयारी व्यवस्थापन र विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना तथा स्थल व्यवस्थापनमा पार्टीले विभिन्न विकल्पमा तयारी अघि बढाइरहेको छ।
काँग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने भएकाले महाधिवेशनका कार्यक्रमस्थल र व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।






