काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन् ।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दु:ख व्यक्त गर्दै देउवाले विपदमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरे ।
उनले पछिल्लो समय विश्वभर तापक्रम बढिरहेको, समुन्द्री सतहसमेत उक्लिँदै गएको र ग्लोबल वार्मिङका कारण विभिन्न स्थानमा ठूला प्राकृतिक दुर्घटना भइरहेको बताए । नेपालमा समेत यसको प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेको उनको भनाइ छ । देउवाले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि विश्वव्यापी रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले हिमालमा हिउँ घट्दै जानु जलवायु परिवर्तनको गम्भीर संकेत भएको बताए ।
देउवाले भने, ‘ अस्तिको पहिरो र बाढीका कारण चितवनदेखि काभ्रेपलान्चोकसम्म ठूलो जनधनको क्षति भएको छ । बाढी-पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु । आज जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण संसारभरि प्राकृतिक विपद् बढिरहेका छन् । तापक्रम र समुन्द्री सतह बढिरहेको छ, त्यसको असर नेपालमा पनि स्पष्ट देखिन थालेको छ । हाम्रा हिमालहरूमा हिउँ घट्दै गएको छ, कतिपय हिमाल काला देखिन थालेका छन् । त्यसैले नेपालले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी अभियानमा अझ सक्रिय भूमिका खेल्नुपर्छ । नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वलाई जलवायु संकटबाट जोगाउन हामी सबैले मिलेर काम गर्नुपर्छ ।’
देउवाले जलवायु परिवर्तनबाट नेपाललाई जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी पहल र अभियान आवश्यक रहेकोमा जोड दिए ।






