काठमाडौँ । ललितपुर महानगरपालिकाले विसं २०४६ पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
विसं २०४६ को जनआन्दोलन अघिसम्म मंगलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसयता बेखबर बनेको थियो । बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा आजदेखि पुन:सञ्चालनमा ल्याएको हो ।
उक्त पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भैसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्त्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचारप्रसारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
“पुस्तकालयको इतिहास ८०० वर्षभन्दा लामो छ, शारदा पुस्तकालयलाई जीवन्त बनाउने कार्यमा प्रबुद्ध व्यक्तित्वहरू लाग्नुहुनेछ भन्ने विश्वास छ”, संस्कृतिविद् जोशीले भन्नुभयो । यसअघि काल कोठरीमा रहेको बताउँदै संस्कृत शिरोमणि जोशीले महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सहरी पुस्तकालय र ‘सिटी हल’ अपरिहार्य हुने भन्दै महानगरले पठन संस्कृतिलाई जगेर्ना गर्न पुस्तकालयलाई प्राथमिकता दिएको बताए । उनले पुन:स्थापित शारदा पुस्तकालय सञ्चालनको सम्बन्धमा महानगर संवेदनशील लाग्ने जानकारी गराउँदै पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायणप्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए ।
स्व. सत्यमोहन जोशीले शारदा पुस्तकालय पुन:स्थापित गर्न आफूलाई पटक पटक प्रेरित गरेको स्मरण गर्दै महानगर प्रमुख महर्जनले २०४६ सालको जनआन्दोलनको बेलामा मासिएको पुस्तकालय संरक्षण गरेर नयाँ पुस्ताका लागि हस्तान्तरणलाई जोड दिएको बताए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्त्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन र: स्थापित गरेको जानकारी गराउँदै पुस्तकालयको पुन:स्थापना गर्ने कार्य सजिलो नभएको र यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्त्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारे ।
लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठले विश्वप्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट सहर भएको धारणा राखे । शारदा पुस्तकालयको पुन:स्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुस्तकालयलाई पुस्तकालय पुन:स्थापना गर्नका लागि गरेको सहयोगप्रति नगर प्रमुखले आभार प्रकट गरेका छन्।






