काठमाडौँ । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न यातायात प्रालिहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २७ लाख ३५ हजार ८९५ सहयोग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न यातायात कम्पनी तथा समितिहरूबाट उक्त रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघ गण्डकी प्रदेश संयोजक महेशबहादुर थापाले जानकारी दिए ।
महासंघ प्रदेश समितिका आबद्ध यातायात कम्पनी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले रु. १० लाख ११ हजार १११, पोखरा यातायात प्रालिले रु. चार लाख र पोखेली ट्याक्सी सेवा प्रालिले रु. तीन लाख बाढीपीडितका लागि सहयोग गरेका छन् ।
त्यसैगरी, धवलागिरि कालिका यातायात प्रालिले दुई लाख पाँच हजार ५५५, स्थानीय यातायात प्रालिले रु एक लाख ५१ हजार १११, बेगनासताल पोखरा यातायात प्रालिले रु एक लाख एक हजार १११, गोरखा दरौँदी यातायात रु एक लाख एक हजार १११, स्याङ्जा गण्डकी यातायात रु एक लाख एक हजार १११ तथा धवलागिरि गण्डकी यातायात प्रालिले रु एक लाख सहयोग गरेका छन् ।
यसैगरी, एवन ग्रेटर नेपाल यातायात प्रालिले रु. ५५ हजार ५५५, सिद्धबाबा यातायात सेवा प्रालिले रु. ५१ हजार १११, मुस्ताङ मुक्तिनाथ यातायात प्रालिले रु. ५१ हजार, धवलागिरि अञ्चल यातायात सेवा प्रालिले रु. ५० हजार, तनहुँ व्यासभूमि यातायात प्रालिले रु. ३६ हजार ६६६, लमजुङ कालिका यातायात सञ्चालक प्रालि, गण्डकी मम्फौला मिनीट्रक सञ्चालक समिति र गण्डकी ट्याक्टर तथा मिनीट्रक यातायात प्रालिले रु. २५ हजार ५५५ का दरले सहयोग गरेको महासंघका सचिव अर्जुन पौडेलले जानकारी दिए ।
त्यसैगरी, पोखरा फेवा यातायात प्रालिले रु. २५ हजार र बागलुङ घुम्टे यातायात प्रालिले रु. २० हजार कोषमा सहयोग गरेका छन् । गण्डकी प्रदेशमै क्रियाशील कास्कीको अन्नपूर्ण घोडेपानी घान्द्रुक यातायात प्रालिले यसअघि नै रु. एक लाख ११ हजार १११ र स्याङ्जा पर्वत यातायात प्रालिले रु २१ हजार जम्मा गरेको महासंघ गण्डकीले जनाएको छ ।
विपद्को समयमा यातायात व्यवसायीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा गरेको सो सहयोग रकम प्रभावित नागरिकसम्म पुग्ने अपेक्षा गरिएको सचिव पौडेलले बताए । समितिले सहयोग गर्ने सबै यातायात व्यवसायी तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।






