काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन् ।
बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।
ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उनको भनाइ छ । उनले विपद् प्रभावित क्षेत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराए । ११–१२ दिनपछि मानिसहरू आफैँ सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरबाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शीघ्र बनाउन सरकारलाई सुझाव दिए । विस्थापित परिवारका सदस्यहरूलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताए। बुबा एउटा शिविरमा र छोरी अर्को क्याम्पमा राखिएको उदाहरण दिँदै उनले परिवारका सदस्यहरूलाई सँगै बस्ने तथा एक–अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।
राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न ओलीले सरकारलाई सुझाव दिए। प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘म सेना प्रहरीलाई पनि भन्न चाहन्छु, तपाईँहरू नियम, कानून र कर्तव्यभित्र रहेर, काम गर्नुस् । अनावश्यक, अनुचित आदेश पालना नगर्नुस्, अनावश्यक आदेश पालना गर्न सकिँदैन, जनताका बीचमा तनाव ल्याउने काम गर्नु हुँदैन भनेर तपाईंहरुले पनि जवाफ दिनुपर्छ । म सरकारमा रहेका मानिसहरूलाई पनि भन्न चाहन्छु, यस प्रकारका राज्य शक्तिको दुरुपयोग जसरी भइरहेको छ, जसरी गरिरहनुभएको छ, यो कुरा रोक्नुस् । दुरुपयोग हुन नदिनुस् । हामीले अलिकति केही सुझाव दियो भने को हो तपाईँहरू सुझाव दिने भन्छन् । उनीहरू भन्छन्, हेलिकप्टर पनि अब त हाम्रै हातमा छ, सबै राज्य नै हामीले कब्जा गरेका छौँ । हामीले देखेका छौँ, हामीले जेलनेल पनि देखेका छौँ, अनेक कुरा देखेका छौँ, यत्तिकै पड्केर, चिठ्ठा परेर, आगो लागेर आएका होइनौँ । कुनै आगजनी, तोडफोड, लुटपाटबाट मान्छे कुटेर, मारेर, आगो लगाएर आएका थिएनौँ । उहाँहरू कसरी आउनु भयो, चुनावबाट आएका हौँ भन्नुहोला, त्यसबारे पछि छलफल गरौँला । चुनाव के भएको थियो, कसरी भएको थियो, कस्तो वातावरण, परिस्थितिमा । यो दुःखका बेला सबै मिल्नुपर्छ । हामी भनिरहेका छौँ, हामी सरकारलाई साथ दिन, सरकारसँग मिलेर काम गर्न तयार छौँ, तर सरकार संलग्न हुन पनि दिइरहेको छैन, यो बहुतै दु:खद् कुरा हो । तर पनि हामी आफ्नो कर्तव्य पूरा गर्नेछौँ ।’
उनले सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पार्दै सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने बताए। जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने भन्दै ओलीले विपद्को समयमा सरकार र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।






