काठमाडौँ । नेकपा एमालेको पुनर्गठन कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा सहमति जुटाउन काभ्रेको बल्थलीमा आवासीय बैठक गरिरहेको छ।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको कार्यदलको बैठकमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनमाथि थप छलफल गर्न कार्यदलका सदस्यहरू शनिबार साँझ बल्थली पुगेका थिए। उनीहरू आइतबार बिहानैदेखि छलफलमा जुटेका छन्।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि एमालेले संगठनात्मक पुनर्गठन र आगामी कार्यदिशाबारे तल्लो तहबाट सुझाव संकलन गरेको थियो। ३० जेठदेखि १९ असारसम्म विभिन्न तहका नेता तथा कार्यकर्ताबाट संकलित सुझावका आधारमा महासचिव शंकर पोखरेलले कार्यदलसमक्ष छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्।
कार्यदलका सदस्य सचिवसमेत रहेका पोखरेलले १३ समूहबाट प्राप्त सुझाव, निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका विषयलाई समेटेर प्रतिवेदन तयार पारेका छन्। यता, कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापाले तयार पारेको पुनर्गठनसम्बन्धी प्रतिवेदनप्रति असहमति जनाउँदै ३९ पृष्ठको छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन्।
शुक्रबारको बैठकमा दुवै प्रतिवेदन कार्यदलमा छलफलका लागि पेस भएका थिए। विषयवस्तु विस्तृत रहेकाले एकै दिनमा निष्कर्षमा पुग्न कठिन भएपछि नेताहरू आवासीय बैठकका लागि बल्थली पुगेका हुन्।
बल्थली बैठकमा दुवै प्रतिवेदनका विषयवस्तुमा छलफल गरी सम्भव भएसम्म साझा निष्कर्ष निकाल्ने र एउटै प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको बताइएको छ। पार्टीको आगामी पुनर्गठन प्रक्रिया र संगठनात्मक सुधारका विषयमा कार्यदलभित्र सहमति निर्माण गर्ने उद्देश्यले छलफललाई निरन्तरता दिइएको हो।






