काठमाडौँ । बाढी प्रभावित जिल्लामा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले राहत तथा पुनः स्थापनाको कामलाई तीव्रता दिएको छ। संगठनले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा ६ सय स्वयंसेवक परिचालन गरी अस्थायी आवास निर्माण सुरु गरेको जनाएको छ।
वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार स्वयंसेवकहरूले बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरणसँगै प्रभावित परिवारको आवास व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
बाढीबाट क्षति पुगेका घरको सरसफाइ तथा स्थानीय आवश्यकता पहिचान गरी अस्थायी आवास निर्माण अघि बढाइएको ओलीले बताए। उनका अनुसार पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ का ठूलो खोला, लामोस्वाँती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने तयारी छ।
ओलीले मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा स्वयंसेवक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।
रसुवाका प्रभावित क्षेत्रमा वैकल्पिक सडकमार्फत राहत सामग्री पुर्याइएको पनि वाईसीएलले जनाएको छ। प्रभावित परिवारका लागि ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल फोन, सेनिटरी प्याड र म्याट्रेसलगायत सामग्री पुर्याइएको संगठनको भनाइ छ।
त्रिशूली नदीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन वैकल्पिक बाटो हुँदै नुवाकोटको विदुर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का अति प्रभावित क्षेत्रमा पनि राहत सामग्री पुर्याइएको छ। त्यहाँ लत्ताकपडा, सिरक, डसना, औषधि, स्टेसनरी तथा खाद्यान्न वितरण गरिएको वाईसीएलले जनाएको छ।
वाईसीएलले अहिले ‘निभेको चुलो बालौँ ! मरेको आशा जगाऔँ !!’ अभियानसमेत सञ्चालन गरिरहेको छ। अभियानमार्फत बाढीपीडित परिवारलाई खाना पकाउने ग्यास र खाद्यान्न उपलब्ध गराउने काम भइरहेको संगठनले जनाएको छ।
सांगठनिक जनसम्पर्क तथा सहयोगी दाताबाट प्राप्त सहयोग परिचालन गर्दै राहत, आवास निर्माण तथा पुनः स्थापनाका गतिविधिलाई निरन्तरता दिइरहेको वाईसीएलले जनाएको छ।






