ओसाका (जापान) । नेपाली कला, संस्कृति, खानपान र पर्यटन प्रवर्द्धनसँगै नेपाली र जापानी समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले जापानको ओसाकामा दुईदिने ‘नेपाली मेला ओसाका-२०२६’ आयोजना हुने भएको छ।
यही असोज ३ र ४ गते (सेप्टेम्बर १९ र २०) ओसाका सिटीको इकुनो वार्डस्थित इकुनो पार्क (मोमोदानी)मा मेला आयोजना हुन लागेको हो। खुसी उरेसी सोसाइटीको आयोजनामा हुने मेलामा नेपाली र जापानी कला तथा संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रम समेटिने आयोजकले जनाएको छ।
सोसाइटीका अध्यक्ष टीआर गौडेलका अनुसार नेपाली भाषा, कला, संस्कृति, खानपान, पर्यटन र मौलिक परम्परालाई जापानी समुदायसँग परिचित गराउनुका साथै दुई देशका नागरिकबीच आपसी समझदारी र सम्बन्ध विस्तार गर्नु मेलाको उद्देश्य हो।
“यो मेला जापानमा रहेका नेपालीको मात्र उत्सव नभई नेपाल र जापानलाई संस्कृति, कला र आत्मीयतामार्फत अझ नजिक ल्याउने साझा मञ्च हो,” गौडेलले भने, “हामी नेपाली समुदायसँगै जापानी नागरिकलाई पनि नेपालको विविधता अनुभव गर्ने अवसर दिन चाहन्छौँ।”
नेपाली र जापानी कलाकारको प्रस्तुति
दुई दिनसम्म सञ्चालन हुने मेलामा नेपाली र जापानी कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन्। नेपाली लोक तथा आधुनिक गीत-संगीत, नृत्य, भजन, पञ्चेबाजा, तामाङ सेलो र लाइभ ब्यान्डलगायतका प्रस्तुति राखिने आयोजकले जनाएको छ।
त्यसैगरी जापानी परम्परागत कला र संगीतसमेत कार्यक्रममा प्रस्तुत गरिनेछ। दुवै देशका कला र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरी सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने अपेक्षा आयोजकको छ।
‘लिभिङ गडेस कुमारी’देखि नेपाली खानासम्म
मेलामा काठमाडौँ उपत्यकाको जीवित देवी कुमारी परम्पराबारे जानकारी दिने ‘द लिभिङ गडेस कुमारी’ फोटो प्रदर्शनीसमेत राखिने भएको छ। प्रदर्शनीमार्फत जापानी तथा अन्य विदेशी आगन्तुकलाई नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराबारे जानकारी गराउने आयोजकले जनाएको छ।
मेलामा नेपाली खानाका विभिन्न स्टलसमेत रहनेछन्। त्यस्तै नेपाली हस्तकला, संस्कृति, पर्यटन तथा परम्परासम्बन्धी सामग्री र गतिविधि पनि समेटिनेछन्।
आयोजकका अनुसार मेलामा नेपाली समुदायसँगै जापानी नागरिकको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। जापानी सांस्कृतिक प्रस्तुति, विद्यालय तथा स्थानीय कलाकारको सहभागिता र जापानी भाषामा नेपालसम्बन्धी जानकारी दिने सामग्रीसमेत कार्यक्रममा समेटिनेछन्।
अध्यक्ष गौडेलले विदेशमा नेपाली संस्कृति प्रवर्द्धनका कार्यक्रम नेपाली समुदायभित्र मात्र सीमित नराखी स्थानीय समुदायसँग पनि जोडिनुपर्ने बताए।
“हाम्रो उद्देश्य जापानीहरूलाई पनि हाम्रा खानपान, संगीत, नृत्य र संस्कृतिसँग जोड्ने वातावरण सिर्जना गर्ने हो,” उनले भने।
मुनाफाको एक अंश बाढीपीडितलाई
आयोजकले मेलाबाट प्राप्त हुने मुनाफाको एक अंश भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उपलब्ध गराउने जनाएको छ।
अध्यक्ष गौडेलका अनुसार सांस्कृतिक कार्यक्रमसँगै विपद्का बेला प्रभावित समुदायलाई सहयोग जुटाउने उद्देश्यसमेत मेलासँग जोडिएको छ।






