काठमाडौँ । दशैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।
सोमवार बसेको समितिको बैठकले यात्रुले भोग्ने सास्ती, टिकटमा हुने ठगी र सवारी दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी कार्य योजनासहित तत्काल लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम र सडक सुरक्षाको पूर्व मूल्यांकन गर्न निर्देशन दिएको छ । समितिले विशेषगरी तोकिएको स्थानबाट मात्र टिकट बिक्री गर्ने, बसपार्कबाट सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न जोड दिएको छ ।
बैठकले क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई पूर्णतः नियन्त्रण गर्न र बाटोमा अखाद्य वा बासी खाना बिक्री वितरण गर्ने होटेल तथा रेस्टुरेन्टहरूको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । साथै, ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि यातायात सेवालाई थप मैत्रीपूर्ण बनाउन समितिले ध्यानाकर्षण गराएको छ ।
यात्रुहरूले भोग्ने भाडादरको समस्या र टिकटमा हुने अनियमिततालाई रोक्न मन्त्रालयलाई तत्काल कार्य योजना बनाएर कार्यान्वयन गर्न भनिएको छ । समितिको बैठकले चाडपर्व लक्षित यातायात व्यवस्थापन उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
सभापति गजुरेलले विगतका वर्षहरूमा जस्तै यात्रुले सास्ती भोग्नुपरेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा त्यसको जिम्मेवारी लिने निकायलाई कडा कारबाहीको दायरामा ल्याउने चेतावनी दिए ।






