काठमाडौँ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। साविककै मूल्यमा बिक्री गर्दा आगामी १५ दिनमा करिब तीन अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र डिजेलको २० रुपैयाँ २१ पैसा बढेको छ। मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ ९६ पैसा, हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ८९ रुपैयाँ ३२ पैसा वृद्धि भएको निगमले जनाएको छ।
खरिद मूल्यमा वृद्धि भए पनि भोटेकोशीको बाढीपहिरोबाट सिर्जित कठिन परिस्थिति, नजिकिँदै गरेका चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार असोज १५ गते बिहान १२:०१ बजेदेखि पनि साविककै खुद्रा बिक्री मूल्य कायम रहनेछ। पोखरा र भैरहवामा भने अन्तर्राष्ट्रिय हवाई इन्धन नाफा-घाटा बराबर हुने मूल्यमा बिक्री गर्ने निर्णय गरिएको छ।
कायम मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल तथा मट्टितेल प्रतिलिटर २०० रुपैयाँ पर्नेछ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यी इन्धनको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा तथा दोस्रो वर्गका सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम रहनेछ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ र काठमाडौँका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोमिटर एक हजार ६९७ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।




