काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा-ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन् ।
मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए।
करिब १२ वर्षदेखि अड्किएको हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौडा ढल्केबर प्रसारण लाइनको काम मन्त्री श्रेष्ठको पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेको बताए।
उनकाअनुसार हेटौँडा-ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ । दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ ।
ञ१४ वटा टावर तयार भइसक्यो । बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ । १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं । यसलाई ब्याक बोनको रूपमा लिएका छौं । जसले गर्दा सम्पलाईको रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौ भने निर्यात पनि बढाउन सक्छौं । दशैलगत्तै चार्ज गर्ने तयारी छ,झ कार्यकारी निर्देशक श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले हेटौडा-ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जाको मेरुदण्डकै रूपमा रहेको बताए। ‘यहाँको लाइन चितवन हुँदै बुटवल जाने र अर्कोतिर ढल्केबर जाने टावरको काम रोकिएको थियो । १६ वटा टावरको काम विगत लामो समय १२ वर्षदेखि रोकिएको थियो । राज्यको अर्बौँ रुपैयाँ खर्च भएको तर के गर्ने भन्ने अन्योलतामा सबैको सतप्रयासले ऐतिहासिक काम पनि भएको छ । त्यसले बुटवलको लाइन इनरुवा, इनरुवाको लाइन बुटवल जान सक्ने ऊर्जाको राजमार्ग नै बन्छ । यहाँको दुइटा टावरको चिन्ता थियो । सबै टिमको सक्रियतामा यो सम्पन्न हुने चरणमा पुगेको छ,’ उनले भने ।
मन्त्री श्रेष्ठले यो प्रसारण लाइन बनिसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताए ।
‘यो प्रसारण लाइन चार्ज भइसकेपछि हाम्रो विश्वास के छ भने नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय पनि हुने मेरुदण्ड भएकोले गर्दा हामी टावरको कामको प्रगति के छ ? अलि अगाडिदेखि नै हेरिरहेका छौं, आज आएर हेर्दा १२ वर्षदेखि अलमल परेको प्रसारण लाइनले गति लिएको छ । ऊर्जा क्षेत्र अब स्टेबल हुन्छ । अहिले तीन सय मेगावाट क्षमता छ भने यहाँबाट ढल्केवर गइरहेको हो । यो बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत् प्रवाह हुन्छ । यो चानचुने उपलब्धि होइन,’ उनले भने।
मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने र यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न अन्तर्देशीय विद्युत् व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए। आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उनको भनाइ छ ।








