काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने बताएका छन्। उनले प्रतियोगिता सर्ने आशंका नगर्न आग्रह गर्दै मंसिर १६ गतेबाट सुरु हुने स्पष्ट पारेका छन्।
दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको उत्सव सुरु भइसकेको बताएका छन्।
‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्ने र कसैले पनि दुबिधा नमान्नुहोला,’ उनले भनेका छन्, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो ।’
मन्त्री पोखरेलले यसपटकको प्रतियोगिता अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय सरकारसँगै सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनले तीनै तहका सरकार र सम्बन्धित पक्षलाई प्रतियोगिता सफल बनाउन मिलेर काम गर्न आग्रह गरेका छन्।



