काठमाडौँ । वर्ल्डलिंकले महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत ललितपुरमा तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा आयोजित तालिममा छधारे कृषि एकल महिला फार्मसँग आबद्ध ३५ जना महिलाको सहभागिता रहेको थियो।
तालिममा सहभागी महिलालाई तरल मल, फिनेल तथा हार्पिक तयार गर्नेसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ।
सीपलाई आयआर्जनसँग जोड्न आग्रह
तालिम समापन कार्यक्रममा ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रममा वर्ल्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुप भण्डारी जालानले तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्न सहभागीलाई आग्रह गरिन्।
उनले महिलालाई सीप उपलब्ध गराउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै त्यसलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सके तालिमको व्यावहारिक प्रभाव देखिने बताइन्। तालिमबाट प्राप्त सीपलाई उत्पादन र आयआर्जनमा उपयोग गर्दै महिलालाई साना उद्यमतर्फ अघि बढ्न सहयोग पुर्याउने उद्देश्य कार्यक्रमले राखेको जनाइएको छ।



