काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाइ प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो । केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाइ दसैँपछि गर्नुपर्ने धारणा राखेका थिए ।
यद्यपि कूटनीतिक नियोगहरूमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनुवाइ छिटो टुंग्याउनुपर्नेमा समिति सहमत भएको हो ।
छलफलका क्रममा सांसदहरूले सुनुवाइ प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता जनाएका छन् ।
प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औँल्याउँदै समितिले सुनुवाइलाई रचनात्मक बनाउने निर्णय गरेको छ ।
कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए । प्रस्तावित १३ जना राजदुतविरुद्ध ७ वटा उजुरी परेका छन् ।
२ वटा सबैविरुद्ध परेको छ भने पाँच वटा एक-एक जना व्यक्ति तोकेर परेको छ । समितिले २६, २७ र २८ गते सुनुवाइ गर्ने र २९ गते प्रतिवेदन लेखन तथा सिफारिसको काम गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कूटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो । समितिको मंगलवारको बैठकमा प्रस्तावित राजदुत उपर प्राप्त उजुरी खोलिएको र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गरिएको छ ।



