काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारको बन्द सत्र अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ। यसअघि बिहानै सुरु गर्ने तयारी भए पनि बन्द सत्रको समय अपराह्नका लागि सारिएको हो।
काँग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले बन्द सत्र अपराह्न ४ बजे सुरु हुने जानकारी दिएका छन्।
बन्द सत्रमा महाधिवेशन प्रतिनिधिबीच छलफल भएका चारवटा मुख्य प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी छ। सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले यसअघि छलफल गरेका छन्।
बन्द सत्रबाट ती दस्ताबेज पारित भएसँगै महाधिवेशनको नीतिगत छलफलको चरण टुंगिने र नयाँ नेतृत्व चयनको प्रक्रिया मुख्य कार्यसूची बन्नेछ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा व्यवस्था गरिएको छ।
१९ पदाधिकारीका लागि ७९ उम्मेदवार
महाधिवेशनबाट सभापतिसहित पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। पार्टीको नयाँ व्यवस्थाअनुसार सभापति एक, वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ पदाधिकारी रहने व्यवस्था छ।
तीमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने भएकाले १९ पदाधिकारी निर्वाचनबाट चयन हुनेछन्। निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारी विवरणअनुसार ती पदका लागि ७९ जनाले उम्मेदवारी दिएका छन्।
सभापतिका लागि वर्तमान सभापति गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी चुनावी प्रतिस्पर्धामा छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै जना हाल पनि पार्टीको उपसभापति छन्।
निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारीमाथि दाबी-विरोधलगायतका प्रक्रिया अघि बढिरहेका छन्।
उम्मेदवारीसम्बन्धी प्रक्रिया टुंगिएपछि अन्तिम नामावली प्रकाशन गरी मतदानको तयारीलाई अन्तिम रूप दिइनेछ। निर्वाचन समितिले असोज २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र असोज २२ गते मतदान गराउने कार्यतालिका तय गरेको छ।



