काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार तय गरिएको मतदान स्थगित भएको छ। निर्वाचन सामग्री समयमै उपलब्ध हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले मतदान शुक्रवार बिहान ७ बजेदेखि सुरु गर्ने गरी नयाँ समय निर्धारण गरेको हो।
यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका थियो। तर, निर्धारित समयमा मतदान सुरु हुन नसकेपछि तीन पटक समय परिवर्तन गर्दै दिउँसो साढे २ बजेसम्म सारिएको थियो।
पटक पटक समय संशोधन गरिए पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले शुक्रवार बिहानका लागि नयाँ समय तय गरेको हो।
निर्वाचन समितिले मतदानका लागि आवश्यक सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले निर्धारित कार्यतालिका अनुसार मतदान सञ्चालन गर्न नसकिएको जनाएको छ।
संशोधित कार्य तालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूले शुक्रवार बिहान ७ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।



