काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको कार्यशैलीमा आमूल परिवर्तन गर्दै नागरिकसँग टुटेको विश्वास पुनः जोड्ने संकल्प व्यक्त गरेका छन् ।
१५ औँ महाधिवेशनबाट पार्टीको सर्वोच्च पदमा विजयी भएपछि शनिवार केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीलाई केवल इतिहासको ब्याजमा नभई नयाँ युग सुहाउँदो भरोसाको केन्द्र बनाउने घोषणा गरेका हुन् । थापाले संगठन सञ्चालन र कार्यशैलीमा तत्काल रूपान्तरण ल्याउने स्पष्ट पारे । विगतका कार्यशैलीप्रति असन्तुष्ट भएर पार्टी छाडेका लाखौँ पूर्वसमर्थक, शुभचिन्तक र नेता–कार्यकर्तालाई काँग्रेसको मूलधारमै फर्काउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । थापाले युवापुस्तालाई पार्टीतर्फ आकर्षित गर्न काँग्रेसको परम्परागत भाष्य बदल्नुपर्ने आवश्यकता औँल्याए ।
पार्टी अब युवा, किसान, उद्यमी र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको आवाज बन्ने उनको दाबी छ । सभापति थापाले किसानले आफ्नो मुद्दा उठाउने, उद्यमीले अवसरको प्रत्याभूति पाउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले आफ्नो परिवारको भविष्य सुरक्षित देख्ने पार्टीका रूपमा काँग्रेसलाई पुनर्स्थापित गर्ने प्रतिबद्धता जनाए । यस्तो रूपान्तरण बोलीबाट मात्र सम्भव नहुने भन्दै उनले हरेक तहका नेता–कार्यकर्ताको आचरण र कार्यशैली व्यवहारमै बदलिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी आफ्नो काम गर्ने शैली बदल्नेछौँ। हामीसँग रहेका साथीहरूको विश्वास अझ बलियो बनाउनेछौँ । साथै, विगतमा नेपाली काँग्रेसलाई माया गरेर पनि हाम्रा कामप्रति असन्तुष्टि जनाउँदै टाढिनुभएका समर्थक र शुभचिन्तकहरूलाई पुनः पार्टीमा जोड्नेछौँ । काँग्रेसको कार्यालय र परिवार उहाँहरूलाई आफ्नै घरजस्तो लाग्ने वातावरण बनाउनेछौँ । नेपाली काँग्रेसको गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अघि बढ्नेछौँ । किसानको आवाज उठाउने, उद्यमीलाई अवसर दिलाउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भरोसा बन्ने पार्टी निर्माण गर्नेछौँ । पार्टीमा जिम्मेवारी पाउने र नपाउने सबै साथीहरूको उत्तिकै महत्त्व छ । निर्वाचनमा पद प्राप्त नगरेका साथीहरूलाई पनि समेटेर अघि बढ्नेछौँ । अधिवेशन प्रक्रियामा सहभागी नभएका साथीहरूलाई समेत पार्टीमा जोड्ने प्रयास गर्नेछौँ । हाम्रो मुख्य उद्देश्य नागरिकसँग टुटेको विश्वास पुनः स्थापित गर्नु हो । यो भाषणले होइन, कामले सम्भव हुन्छ । त्यसैले नागरिकको विश्वास जित्न हामीले आफ्नो कार्यशैली बदल्नैपर्छ, र त्यो परिवर्तन आजैबाट शुरु हुनेछ ।’
महाधिवेशनको चुनावी प्रतिस्पर्धाबाट उत्पन्न हुनसक्ने असन्तुष्टिलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र वृहत् एकताको आह्वानसमेत गरे । प्रतिस्पर्धामा पद प्राप्त गर्न नसकेका योग्य साथीहरूको भूमिका र महत्त्व कम नहुने उल्लेख गर्दै उनले अधिवेशन प्रक्रिया बाहिर रहेका असन्तुष्ट पक्षलाई समेत समेटेर एक ढिक्का बनाउने स्पष्ट पारे । अन्ततोगत्वा नागरिकसँग गुमेको विश्वास फर्काउनु नै नेतृत्वको मूल अभीष्ट रहने उनको निष्कर्ष छ ।



