काठमाडौँ । एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)का अध्यक्ष कृष्णकुमार बोहराले प्रारम्भिक बाल शिक्षामा लगानी बढाउन माग गरेका छन् ।
आईतवार ललितपुरमामा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक वृहत् शैक्षिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले गुणस्तरीय शिक्षाको मुख्य आधार प्रारम्भिक बाल शिक्षा भएको भन्दै यस क्षेत्रमा बजेट बढाउने र अगामी ५० वर्षसम्म मार्ग निर्देशन गर्न सक्ने गरी नयाँ शिक्षा ऐन बनाउन जरुरी रहेको बताए । गुणस्तरीय शिक्षाको जग बलियो बनाउन प्रारम्भिक बाल शिक्षाको विकासलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।
अध्यक्ष बोहराले माध्यमिक तहको शिक्षालाई गुणस्तरीय र सीपमूलक बनाउन प्रारम्भिक तहदेखि नै लगानी बढाउनुपर्नेमा जोड दिए । प्रारम्भिक बाल शिक्षाको जग बलियो भए मात्रै माथिल्लो तहको शिक्षाको गुणस्तर सुधार गर्न सकिने उनको जिकिर छ । उनले प्रारम्भिक बाल शिक्षाको विकास शिक्षा मन्त्रालयको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका निकायबीच समन्वय आवश्यक रहेको बताए ।
उनले भने, ‘यसअघि २०२८ सालको शिक्षा ऐनले जसरी प्रारम्भिक बाल शिक्षादेखि माथिका सम्पूर्ण तहहरूलाई जसरी गर्भ गर्दै यहाँसम्म आइपुग्यो त्यसैगरी अब बन्ने शिक्षा ऐनले अबको कम्तीमा ५० वर्ष गाइड गर्नुपर्छ । यो स्पेस बिग्रिनुभएन भन्ने हो । प्रारम्भिक बाल शिक्षाको स्टेक होल्डर हामी सबै हौँ । हामी सबैकोमा प्रारम्भिक बाल शिक्षाको तह छ । अपेनले प्रारम्भिक बाल शिक्षाको तहलाई मात्रै नेतृत्व गरिरहेको छ । त्यस अर्थमा हामीले प्रारम्भिक बाल शिक्षाको विकासको कुरा शिक्षा मन्त्रालयसँग मात्र जोडिँदैन । स्वास्थ्य मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, खाद्यान्न गुणस्तर विभाग सबै जोडिन्छन् । त्यस कारण अबको दिनमा माध्यमिक तहको शिक्षालाई गुणस्तरीय बनाउने सवालमा, सीपयुक्त बनाउने सवालमा यसको प्रारम्भिक तहमा नै लगानी बढाउने वातावरण निर्माण गर्नुपर्छ । यसो गरिए मात्र गुणस्तरीय शिक्षाको जग बलियो बनाउन सकिन्छ । पाठ्यक्रमदेखि लिएर ऐनसम्म यी कुरा जोडिएर आउन जरुरी छ ।’
उनले प्रारम्भिक बाल शिक्षासम्बन्धी विषयलाई शिक्षा ऐनमा मात्रै नभई पाठ्यक्रममा समेत समेट्नुपर्नेमा जोड दिए ।



