अध्यागमनमा कार्यरत केही अधिकृतको ‘सेटिङ’बारे प्रश्न उठेपछि करिब डेढ दर्जन अधिकृत फिर्ता बोलाएर नयाँ टोली खटाउने तयारी भइरहेको प्रशासन विशेष स्रोतको दाबी।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ जना शाखा अधिकृतलाई गृह मन्त्रालय वा मातहतका निकायमा सरुवा गरेको छ।
मन्त्रालयले असोज २९ गते गरेको निर्णयअनुसार उनीहरूलाई गृह मन्त्रालय वा अन्तर्गत खटाइएको हो।
सरुवा भएका अधिकांश अधिकृतलाई अध्यागमन कार्यालयहरूमा खटाउने तयारी रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ।
अध्यागमनका केही अधिकृतको कामकारबाहीमा मिलेमतो र अनियमितताको आशङ्का देखिएपछि करिब डेढ दर्जन अधिकृतलाई त्यहाँबाट फिर्ता बोलाएर नयाँ अधिकृत खटाउने तयारी गरिएको स्रोतको दाबी छ। यद्यपि, सरुवा सूचीमा उनीहरूको अध्यागमन कार्यालयमा पदस्थापन हुने उल्लेख छैन।



