काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकका लागि टिकट दर निर्धारण गरेको छ ।
यसपटक प्रतियोगिताका निर्णायक खेल हेर्न चाहने दर्शकले लिग चरणको तुलनामा दोब्बर रकम खर्च गर्नुपर्ने भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको टिकट दरअनुसार लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तिर्नुपर्नेछ ।
इलिमिनेटर र फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुँदै छ ।
प्रतियोगिताका लागि टिकट बिक्रीसमेत बिहीबारदेखि खुला हुने भएको छ । क्रिकेटप्रेमीले साँझ ८ बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत टिकट खरिद गर्न सक्ने क्यानले जनाएको छ ।
लिग सुरु हुन चार दिन बाँकी रहँदा सार्वजनिक गरिएको टिकट दरसँगै दर्शकका लागि मैदानमै पुगेर खेल हेर्ने तयारी गर्ने बाटो खुलेको छ ।



