काठमाडौँ । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो । बायाँहाते ब्याटर मिलर विस्फोटक ब्याटिङ र छक्का प्रहार गर्ने क्षमताका कारण विश्व क्रिकेटमा परिचित छन् । मध्यक्रममा खेल्ने उनी टी-२० क्रिकेटका अनुभवी फिनिसर हुन् ।
मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय खेलमा चार हजार ७६२ र १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन् । उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी-२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् ।
सबैखाले टी-२० क्रिकेटमा उनले ५८४ खेलबाट १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा उनले चार शतक, ५३ अर्धशतक र ५६९ छक्का प्रहार गरेका छन् ।
सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका मिलरसँग इन्डियन प्रिमियर लिग (आईपीएल) को लामो अनुभव छ । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दै उनले १६ खेलमा ४८१ रन बनाएका थिए । उक्त सिजन गुजरातले आईपीएल उपाधि जितेको थियो । मिलरले पछिल्लो पटक सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।
उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ ।



