सरकार तथा सरकारअन्तर्गतका निकायहरूले जनहित, जनकल्याण र नागरिकको अधिकार सुनिश्चित गर्न प्रवाह गर्ने समग्र सेवाको एकीकृत स्वरूपलाई सार्वजनिक सेवा भनिन्छ। परम्परागत रूपमा सार्वजनिक सेवा राज्यको दायित्व मानिए पनि आधुनिक शासनमा निजी क्षेत्र, नागरिक समाज तथा अन्य गैरसरकारी क्षेत्रसमेत सार्वजनिक सेवा प्रवाहका सहयात्री बनेका छन्।
राज्यले नागरिकको आवश्यकता, अधिकार र जनहित सम्बोधन गर्न सार्वजनिक निकायमार्फत प्रदान गर्ने सेवा तथा सुविधालाई सार्वजनिक सेवा भनिन्छ। नागरिकलाई यस्तो सेवा सरल, सहज, छिटो, पारदर्शी, समावेशी, उत्तरदायी र प्रभावकारी रूपमा उपलब्ध गराउने समग्र प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो। यो राज्यको दायित्व र नागरिकको अधिकारका रूपमा रहेको हुन्छ।
सार्वजनिक सेवा प्रदान गर्नु सरकारको दायित्व र प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसले राज्यका संवैधानिक तथा कानुनी प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नुका साथै सरकार र नागरिकबीचको सेतुका रूपमा काम गर्दछ। त्यसैले सार्वजनिक सेवा प्रवाहलाई सरकारको कार्यसम्पादन, सुशासन र जनविश्वास मापन गर्ने महत्त्वपूर्ण आधार मानिन्छ।
राज्यको यसै दायित्वलाई परिपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरण (नेपाल इलेक्ट्रिसिटी अथोरिटी-एनईए) नेपाल सरकारको स्वामित्वमा रहेको एक प्रमुख सार्वजनिक संस्थान हो। यसको स्थापना नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते (१६ अगस्ट १९८५) भएको हो।
नेपाल विद्युत् प्राधिकरण नेपालको विद्युत् क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीको विकास तथा सञ्चालन गर्ने प्रमुख संस्था हो। यसले विद्युत् उत्पादन तथा उत्पादन क्षमता विस्तार, उत्पादन केन्द्रबाट विभिन्न क्षेत्रसम्म विद्युत् प्रसारण, घरपरिवार, उद्योग, व्यवसाय तथा अन्य उपभोक्तालाई विद्युत् वितरण, विद्युत् महसुल तथा राजस्व सङ्कलन, प्रसारण लाइन र सबस्टेसनलगायत विद्युत् पूर्वाधारको निर्माण तथा विस्तार र उपभोक्ता सेवा प्रदान गर्ने कार्य गर्दै आएको छ।
साथै, विद्युत् प्रणालीको सञ्चालन तथा मर्मतसम्भार, योजना तथा व्यवस्थापन र विद्युत् आपूर्तिको विश्वसनीयता तथा गुणस्तर कायम गर्न पनि नेपाल विद्युत् प्राधिकरणको महत्त्वपूर्ण भूमिका रहेको छ।
नेपाल विद्युत् प्राधिकरणको सङ्गठनात्मक संरचनामा जम्मा ९ वटा निर्देशनालयहरू र वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत सात (७) वटा प्रादेशिक कार्यालय, दुईवटा प्रादेशिक डिभिजन कार्यालय तथा विभिन्न वितरण/उपवितरण केन्द्रहरूबाट देशभर विद्युत् सेवा प्रवाह हुँदै आएको छ।
विद्युत् पूर्वाधारको विस्तार, ऊर्जा पहुँच वृद्धि, औद्योगिक तथा आर्थिक गतिविधिमा सहयोग र भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपाल विद्युत् प्राधिकरणको महत्त्वपूर्ण योगदान रहेको छ।
नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। संविधानको धारा ४४ अन्तर्गतको उपभोक्ताको हक तथा धारा २७ अन्तर्गतको सूचनाको हकले सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र उत्तरदायी बनाउन आधार प्रदान गर्दछ।
यसै संवैधानिक आधारअनुरूप नेपाल विद्युत् प्राधिकरणले प्रचलित कानुन तथा नियमावली, जस्तै : नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१, विद्युत् ऐन, २०४९ तथा विद्युत् नियमावली, २०५० साथै विद्युत् नियमन आयोग ऐन, २०७४ लगायतका कानुनी व्यवस्थालाई आधार मान्दै आएको छ। यी कानुनी व्यवस्थाले विद्युत् क्षेत्रको नियमन र उपभोक्ता हित संरक्षणमा आधार प्रदान गर्दछन्। सोहीबमोजिम प्राधिकरणले नागरिकलाई विद्युतीय सेवा प्रदान गर्दै आएको छ।
प्राधिकरणका वितरण केन्द्रहरू उपभोक्तासँग प्रत्यक्ष सम्पर्कमा रही नयाँ विद्युत् जडान, मिटर जडान तथा परिवर्तन, नामसारी तथा ठाउँसारी, क्षमता वृद्धि वा घटाउने, लाइन काट्ने तथा पुनःजडान, महसुल तथा बक्यौता व्यवस्थापन, मिटर परीक्षण र विद्युत् आपूर्तिसम्बन्धी गुनासो समाधानलगायतका सेवा प्रदान गर्ने स्थानीय सेवा केन्द्रका रूपमा रहेका, नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयहरू हुन्।
प्रत्येक विद्युत् जडान ग्राहकलाई ग्राहक नम्बर र आईडी प्रदान गरी ग्राहकको विद्युत् जडान, मिटर, खपत, बिलिङ, भुक्तानी तथा बक्यौताको विवरण व्यवस्थित रूपमा अभिलेख तथा पहिचान गर्न र सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि विद्युत् वितरण विनियमावली, २०७८ तथा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ मार्गदर्शनका रूपमा रहेका छन्।
डिजिटल प्रविधिको विस्तारसँगै सार्वजनिक सेवा प्रवाह क्रमशः डिजिटल माध्यममा रूपान्तरण हुँदै गएको छ। नागरिकले सरकारी सेवा, सूचना, अनलाइन आवेदन, डिजिटल भुक्तानी, प्रमाणपत्र तथा गुनासो व्यवस्थापनजस्ता सेवाहरू विद्युतीय माध्यमबाट प्राप्त गर्न थालेका छन्।
नेपालमा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विद्युतीय शासन (ई-गभर्नेन्स), अनलाइन सेवा, डिजिटल भुक्तानी तथा विभिन्न विद्युतीय प्रणालीको प्रयोग विस्तार भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणमा समेत अनलाइन सेवा, डिजिटल भुक्तानी, ग्राहक पहिचान, बिलिङ तथा गुनासो व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउन सहयोग गरेको छ।
अतः सार्वजनिक सेवाको डिजिटल रूपान्तरण केवल सेवा प्रवाहलाई छिटो बनाउने माध्यम मात्र नभई नागरिकको अधिकार, गोपनीयता, समानता, सुरक्षा र विश्वास सुनिश्चित गर्ने शासन प्रणालीको आधार पनि हो। त्यसैले सार्वजनिक सेवामा प्रविधिको प्रयोगसँगै मानव अधिकारमैत्री, सुरक्षित, समावेशी, पारदर्शी र उत्तरदायी डिजिटल सेवा प्रणालीको विकास गर्न आवश्यक छ।
सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोगले नागरिकलाई छिटो, छरितो र पारदर्शी रूपमा सरकारी सेवाहरू प्राप्त गर्न सहज बनाएको छ। यसले समय र स्रोतको बचत गराउनुका साथै सुशासन कायम गर्न मद्दत पुर्याउँछ।
सूचना प्रविधिको प्रयोग, अनलाइन सेवा तथा डिजिटल भुक्तानीको विस्तारमार्फत सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने प्रयास भइरहेको छ।
यसरी संवैधानिक हक, प्रचलित विद्युत् कानुन तथा सुशासन र उपभोक्ता संरक्षणसम्बन्धी व्यवस्थाका आधारमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह गरी नागरिकको विद्युत् सेवामा पहुँच, सेवाग्राही सन्तुष्टि र प्राधिकरणप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
ग्राहक सेवा तथा विद्युत् क्षेत्रको विकासमा प्राधिकरणको भूमिका
- नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँगै ग्राहक सेवाको गुणस्तर सुधार र विद्युत् क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिँदै आएको छ। ग्राहकलाई भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सहज विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले सेवा प्रवाहमा प्रविधिको प्रयोग तथा पूर्वाधार विकासलाई निरन्तर विस्तार गर्दै आएको छ।
- ग्राहक सेवातर्फ कल सेन्टर, अनलाइन आवेदन तथा गुनासो व्यवस्थापन, डिजिटल भुक्तानी, स्मार्ट मिटरिङ, ग्राहक विवरणको डिजिटल अभिलेखीकरण तथा विभिन्न विद्युतीय सेवा प्रणालीको विस्तारले सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउन सहयोग पुर्याएको छ।
- त्यसैगरी, विद्युत् क्षेत्रको विकासका लागि प्रसारण तथा वितरण संरचनाको विस्तार र स्तरोन्नति, विद्युत् पहुँच विस्तार, प्रणालीको विश्वसनीयता अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगमा प्राधिकरणले जोड दिँदै आएको छ। विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्दै गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुका साथै ऊर्जा क्षेत्रलाई आर्थिक तथा औद्योगिक विकासको आधारका रूपमा विकास गर्नु प्राधिकरणको महत्त्वपूर्ण जिम्मेवारी हो।
- हरित ऊर्जाको विकास तथा विस्तारमार्फत वातावरण संरक्षण गर्दै जनजीवनमा सहजता ल्याउने, देशभित्र औद्योगिक विकासलाई प्रवर्द्धन गर्ने तथा क्रमशः पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा मुलुकलाई अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरण क्रियाशील रहेको छ।
- देशभर राष्ट्रिय प्रसारण ग्रिडमार्फत भरपर्दो विद्युत् सेवा विस्तार गर्दै विद्युत्को पहुँच वृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरण निरन्तर क्रियाशील रहेको छ।
- विद्युत् सेवाको पहुँच विस्तार मात्र नभई अविच्छिन्न, भरपर्दो तथा गुणस्तरीय विद्युत् सेवा सुलभ मूल्यमा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ। विद्युत् क्षेत्रको समग्र सुधार तथा विकासका लागि प्राधिकरणको लगानी मात्र पर्याप्त नहुने भएकाले नेपाल सरकार तथा निजी क्षेत्रबाट समेत आवश्यक पुँजीगत लगानी र सहकार्य अपेक्षित रहेको छ।
- गुणस्तरीय विद्युत्को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माग पूरा गर्दै समृद्धिको राष्ट्रिय अभियानमा ऊर्जा क्षेत्रलाई प्रमुख संवाहकका रूपमा अघि बढाउनु आजको आवश्यकता हो।
आगामी कार्यदिशा
नेपालको विद्युत् क्षेत्रमा बढ्दो माग, विद्युत् उत्पादनमा भइरहेको विस्तार, अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना तथा गुणस्तरीय सेवा प्रवाहको आवश्यकतालाई दृष्टिगत गर्दै नेपाल विद्युत् प्राधिकरणले उत्पादन, प्रसारण, वितरण, विद्युत् व्यापार, राजस्व व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा योजनाबद्ध सुधार तथा विकासका कार्यक्रमहरू अघि बढाउनुपर्ने देखिन्छ।
विद्युत् क्षेत्रलाई दिगो, प्रतिस्पर्धी, आत्मनिर्भर र प्रविधिमैत्री बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान अभिवृद्धि गर्न प्राधिकरणले देहायका कार्यदिशाहरू अवलम्बन गर्नुपर्नेछ :
१. विद्युत् उत्पादन विस्तार : बढ्दो आन्तरिक माग परिपूर्ति गर्न जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास र उत्पादन क्षमता विस्तार गर्ने।
२. प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण : उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन तथा वितरण पूर्वाधारको विस्तार र स्तरोन्नति गरी सुरक्षित, नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने।
३. विद्युत् चुहावट नियन्त्रण : प्राविधिक तथा गैरप्राविधिक चुहावट न्यूनीकरण गर्दै ऊर्जा दक्षता अभिवृद्धि गर्ने र विद्युत् प्रणालीको समग्र कार्यसम्पादन सुधार गर्ने।
४. गुणस्तरीय विद्युत् सेवा प्रवाह : उपभोक्तालाई सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउँदै सेवा प्रवाहलाई उपभोक्तामैत्री बनाउने।
५. डिजिटल रूपान्तरण तथा प्रविधिको उपयोग : स्मार्ट मिटर, डिजिटल बिलिङ, अनलाइन भुक्तानी, ग्राहक पहिचान तथा विवरण अद्यावधिक (केवाईसी) र अभिलेख डिजिटाइजेसनलाई प्रभावकारी बनाउँदै प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने।
६. विद्युत् महसुल तथा राजस्व व्यवस्थापन : बिलिङको शुद्धता कायम गर्ने, बक्यौता असुलीलाई प्रभावकारी बनाउने, समयमै महसुल सङ्कलन गर्ने तथा राजस्व चुहावट नियन्त्रण गरी वित्तीय स्रोतको दिगोपना सुनिश्चित गर्ने।
७. अन्तरदेशीय विद्युत् व्यापार विस्तार : विद्युत् निर्यातका अवसरहरूको सदुपयोग गर्दै क्षेत्रीय विद्युत् बजारमा नेपालको सहभागिता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने तथा विद्युत् व्यापारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्ने।
८. आन्तरिक विद्युत् खपत प्रवर्द्धन : यातायात, उद्योग, कृषि, घरेलु तथा व्यावसायिक क्षेत्रमा विद्युत्को प्रयोग विस्तार गर्दै विद्युतीय सवारीसाधन, विद्युतीय चुलो र विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने।
९. ग्राहक सेवा तथा गुनासो व्यवस्थापनमा सुधार : ग्राहकका गुनासा तथा सेवा अनुरोधको शीघ्र सम्बोधन गर्दै सेवा प्रवाहलाई सरल, छिटो, छरितो, प्रभावकारी र पारदर्शी बनाउने।
१०. सुशासन तथा वित्तीय अनुशासन कायम गर्ने : वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका उपायलाई प्रभावकारी बनाउँदै संस्थागत सुशासन अभिवृद्धि गर्ने।
११. जनशक्ति विकास तथा क्षमता अभिवृद्धि : प्राविधिक, प्रशासनिक, वित्तीय तथा व्यवस्थापकीय जनशक्तिको ज्ञान, सीप र क्षमता विकास गर्दै दक्ष, उत्तरदायी र परिणाममुखी जनशक्ति परिचालन गर्ने।
१२. वातावरण संरक्षण तथा जलवायु उत्थानशीलता : जलवायु परिवर्तनबाट विद्युत् उत्पादन तथा पूर्वाधारमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्दै वातावरणमैत्री र दिगो ऊर्जा विकासलाई प्राथमिकता दिने।
१३. सार्वजनिक–निजी सहकार्य विस्तार : विद्युत् उत्पादन, प्रसारण, वितरण तथा पूर्वाधार विकासमा निजी क्षेत्र, सरकारी निकाय, स्थानीय तह र अन्य सरोकारवालासँगको सहकार्य तथा समन्वयलाई सुदृढ बनाउने।
१४. दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्ने : विद्युत् उत्पादन, प्रसारण, वितरण र खपतबीच प्रभावकारी समन्वय कायम गर्दै ऊर्जा स्रोतको दिगो उपयोग, प्रणालीको विश्वसनीयता र भविष्यको मागअनुरूप विद्युत् उपलब्धता सुनिश्चित गर्ने।
१५. अनुसन्धान, नवप्रवर्तन तथा आधुनिक व्यवस्थापन : नयाँ प्रविधि, तथ्याङ्कमा आधारित निर्णय प्रणाली, स्वचालन र आधुनिक व्यवस्थापकीय अभ्यासको अवलम्बन गर्दै प्राधिकरणको उत्पादकत्व, कार्यदक्षता र प्रतिस्पर्धात्मक क्षमता बढाउने।
समग्रमा
नेपाल विद्युत् प्राधिकरणले उत्पादन वृद्धि, भरपर्दो पूर्वाधार, प्रभावकारी महसुल तथा राजस्व सङ्कलन, आन्तरिक खपत प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, डिजिटल रूपान्तरण र संस्थागत सुशासनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने देखिन्छ।
यी कार्यदिशाको प्रभावकारी कार्यान्वयनबाट विद्युत् क्षेत्रको दिगो विकास, ऊर्जा सुरक्षा, आर्थिक समृद्धि तथा नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ।




