काठमाडौँ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सम्झौता गरेको छ। स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यसहित सहकार्य अघि बढाएको हो।
सम्झौताअन्तर्गत आर्य फार्माल्याबले एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परीक्षण, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। मैदानमा स्वास्थ्य परीक्षण कक्षसँगै मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि पनि सञ्चालन गरिएको छ।
कम्पनीका अनुसार खेल हेर्न आउने दर्शकलाई आधारभूत स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध गराउनुका साथै स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी दिने कार्यक्रमको उद्देश्य छ।
आर्य फार्माल्याबले खेलाडीको प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न प्रत्येक खेलमा दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ। उक्त अवार्डअन्तर्गत छनोट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। पुरस्कार कार्यक्रममार्फत खेलाडीको योगदानको सम्मान र दर्शकको सहभागिता बढाउने लक्ष्य राखिएको छ।
स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई कम्पनीले सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोडेको छ। क्रिकेटको माध्यमबाट धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउने विश्वास आर्य फार्माल्याबले व्यक्त गरेको छ।




