काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एम्बुलेन्सभित्र रहेको अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति सिन्ध प्रान्तको थारपारकर जिल्लास्थित नगरपारकर सहरको एक स्वास्थ्य केन्द्रमा पार्किङ गरिएको एम्बुलेन्समा विस्फोट भएको हो।
विस्फोटमा घाइते भएका चार जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची पठाइएको छ। मृत्यु भएका व्यक्तिहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले जनाएका छन्।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ। विस्फोटको प्राविधिक पक्ष अध्ययन गर्न मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको छ।
विशेषज्ञ टोलीले घटनास्थलबाट सङ्कलित प्रमाणको परीक्षण गरी अक्सिजन सिलिन्डर विस्फोट हुनुको कारण पहिचान गर्ने प्रहरीले जनाएको छ।विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत कारण भने खुलिसकेको छैन।




