काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले (देउवा समूह) पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा हुने बताएका छन्।
मंगलवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताएका हुन्।
महाधिवेशनको तयारीबारे जानकारी दिँदै नेता महतले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको बताए । त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र थप चार जिल्लामा प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।
छोटो समयमै देशभरका पार्टी कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले विभिन्न तहका अधिवेशन स्थानीय कार्यकर्ताले आफ्नै स्रोतसाधन र स्वैच्छिक सहयोगमा सम्पन्न गरिरहेको बताए ।
विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै महतले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको बताए । अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै काँग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ ।
उनले विशेष अधिवेशनको प्रक्रिया विधि र विधानअनुसार नभएको दाबी गर्दै त्यसलाई मान्यता दिलाउन भएका भनिएका गतिविधिबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गरे ।
महतले नेपाली काँग्रेसको वैचारिक तथा सांगठनिक पहिचानसमेत विशेष अधिवेशनबाट आएको नेतृत्वले जोगाउन नसकेको आरोप लगाए। बिपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादी विचार र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको उनको भनाइ छ ।
उनले देशभरका नेता तथा कार्यकर्तालाई मङ्सिर २१ देखि हुने १५ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।




