१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विरक्त लागेका छन् हो गाउँ पनि !

अ अ+ अ-

वर्ष दिनमा आउने बडादसैँ चाडपर्वको मेलोमेसो मिलाएर गाउँघरतिर जाने वातावरण बनेको थियो। सहरको व्यस्त जीवनशैली, जागिरे दैनिकी, बालबच्चाको स्कुल र घरव्यवहारको चटारोले सधैँ मन लागेर पनि गाउँ फर्किन पाइँदैन। सहरबाट दुई-चार दिनको बिदा मिलाएर गाउँ पुग्दा आफू आफ्नै जन्मथलोमा कुनै विदेशी पर्यटकजस्तै भएर घुमिरहेको भान हुन्छ। गाउँ पुगेपछि दाजुभाइ, आमाबुवा, साथीसङ्गी र आफन्तहरूसँग भेटघाट हुने अवसरले मन भने ढुकढुक र हर्षित भइहाल्छ।

गाउँ पुगेपछि मेरो एउटा बानी छ-मलाई बाल्यकालमा खेलेका र उफ्रेका प्रत्येक बाटा, कान्ला, खेतबारी र पुराना घरहरू कस्ता भए होलान् भनेर घुम्न मन लाग्छ। साना छँदा म पढेको विद्यालय ‘रुम्जाटार माध्यमिक विद्यालय’ थियो। बिहान साढे सात बजेतिरै घरमा खाना-खाजा खाएर सिस्ने खोलासम्म हस्याङफस्याङ गर्दै ओरालो झर्थ्यौँ। रानीवाराको तेर्सो र उकालो बाटो चढ्दै गर्दा झन्डै डेढ घण्टाको पैदल यात्रापछि मात्र स्कुल पुगिन्थ्यो।

यसपालि गाउँघर जाँदा पनि रुम्जाटारको स्कुलको ढोकामा पुगेर एक-दुई चोटि नियाल्न मन लाग्यो। विद्यालयमा बिदा भए पनि मैले बाहिरैबाट भित्र चिहाएर हेरेँ। ढोकाबाट चिहाउँदा बाल्यकालका ती स्वर्णिम यादहरू मनभित्र सरर्र नाच्न थाले।

‘विरक्त लागेका छन् हो गाउँ पनि’ नेपाली कथानक चलचित्र ‘कबड्डी’ को चर्चित संवाद याद आयो। रुम्जाटारको सेरोफेरोमा यो चलचित्र रामबाबु गुरुङले निर्देशन गरेका हुन्। ‘कबड्डी’ फिल्मका चर्चित निर्देशक रामबाबु गुरुङसँग हामीले दस कक्षासम्म सँगै पढेका थियौँ। रामबाबु गुरुङ र समाजसेवी मोतीराज गुरुङको घर हेर्दै पुरानो घरतर्फ झर्ने बाटो जाने मन भयो र हामी तीनधारा हुँदै ओरालो झर्‍यौँ।

त्यो बेलाको समय सम्झिँदा अहिले बालापनका पुराना यादहरू आउँछन्। करिब सय जना विद्यार्थीहरूको लर्को हुन्थ्यो। निलो सर्ट, पेन्ट र फ्रक लगाएका स्कुले बालबालिकाहरू कुडुले अँधेरीका भोगटिनीको उकालो, चनौटे असिनेका रानीवाराको उकालो, केराउस्वाँरा र लामिस्वतीका साथीहरू पिप्लेटारीतिरबाट वारिपारि गर्दै स्कुल आउँदा-जाँदाको त्यो दृश्य असाध्यै रहरलाग्दो हुन्थ्यो।

समयले कस्तो फड्को मार्‍यो ! दशकअघिसम्म गाउँघरमा न बिजुलीबत्ती थियो, न त गाडी हिँड्ने सडक नै। तैपनि गाउँमा छुट्टै प्राण थियो, आत्मीयता थियो। बरपीपलका ठूला-ठूला चौतारीहरू सफा हुन्थे, जहाँ बटुवाहरू थकाइ मेट्न बसून् भनेर ठूला र चिल्ला चप्लेटी ढुङ्गाहरू बिछ्याइएका हुन्थे।

आज ती चौतारीमा बस्ने कोही मान्छे छैनन्। मान्छेको आवतजावत रोकिएपछि चौतारीहरूमा लेउ र काई लागेका छन्, रुख र झारपात उम्रेर हेरिनसक्नु भएको छ। रुम्जाटारको डाँडापाखाबाट चनौटे र केराउस्वाँरातिर हेर्दा पूरै गाउँ जङ्गलले ढाकेको देखियो। पुराना आँखैले स्पष्ट देखिने घरहरू त अब एउटै देखिन पनि मुस्किल छ।

यो गाउँ ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ३ मा पर्छ। सायद चनौटोजस्तो बनावट भएर होला, गाउँको नाम पनि चनौटे भनेको। ओखलको जस्तो सम्म, वरिपरि बिँड नभएको ढुङ्गाको चप्लेटीलाई चनौटो भनिन्छ।

यसपालिको दसैँमा काठमाडौँबाट गाउँ जाँदा म रुम्जाटार हुँदै गएँ। रुम्जाटारमा काका रामबाबुको पुस्तक पसल छ। त्यहाँ पुगेर काकालाई भेटेँ। घरमा ९९ वर्षकी वृद्ध हजुरआमा हुनुहुन्थ्यो। उहाँको पूज्य हातबाट टीका र जमरा लगाएर आशीर्वाद थापेँ।

रुम्जाटार र मेरो आफ्नै गाउँ चनौटेको दूरी करिब चार किलोमिटर छ। उकालो-ओरालो हिँड्दा अझै पनि करिब एकदेखि डेढ घण्टा लाग्छ।

हामी पिप्लेटारी र कन्दने हुँदै कुडुले निस्केर गाउँतिर लाग्यौँ। साथमा बुवा, मम्मी र तिलबारी धर्मेन्द्र थियौँ। गाउँघरका पुराना रमाइला गफ गर्दै मोबाइलमा फोटो खिच्दै गयौँ। गाउँ पुग्दा त गाउँको मुहार पूरै फेरिएछ। जताततै जङ्गलैजङ्गल, अनि मान्छे हिँड्ने बाटैभरि बाँदरका ठूला-ठूला हुल !

असोज सकिएर कात्तिक लागिसकेको थियो। खेतमा रोपेका धानका गराहरू पहेँलै भएर झुलेका थिए। केही दिनमै धान काट्ने बेला भइसकेको थियो भने कतिपयले त भित्र्याउनसमेत थालिसकेका रहेछन्। यो बेला हिउँदे पानी पर्‍यो भने पाकेको बाली सबै बिग्रिन्छ भन्ने चिन्ता किसानहरूमा थियो।

दुःखको कुरा, धेरैजसो उब्जाउ खेतहरू भने बाँझै पल्टिएका थिए। गाउँमा खेतीपाती गर्ने मानिसहरू नै कोही सहरतिर, कोही वैदेशिक रोजगारीमा त कोही स्थायी रूपमै बसाइँ सरेर गइसकेछन्। गाउँमा मान्छे घटेपछि खेती गर्न छोडिएछ। आखिर सहर र बजारमा देशी चामल सस्तोमै पाइहाल्ने।

भौतिक रूपमा हेर्ने हो भने त अहिले गाउँसम्म जान अटो, बोलेरो र सुमो गाडीहरू जति पनि पाइन्छन्। रुम्जाटारदेखि चनौटे, मेरो गाउँ जाने सडक त बनेको छ, तर ती सडकहरू ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेका, भत्केका र बिग्रेका छन्। सोचेजस्तो गाडीको सहज सुविधा भने अझै छैन।

हाम्रोतिर दसैँको टीका विजयादशमीदेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्मै लगाउने चलन छ। उकालो बाटो आउँदै गर्दा बाटोमा सल्लेरी गोविन्द काकाको घरमा गएर टीका लगाएँ। ठाइलाको घरअगाडि लिङ्गे पिङ हालिएको रहेछ। सायद दसैँ मनाउन आएका मानिसहरू टीका सकिएर सहर फर्किसकेकाले होला, पिङ खेल्न त्यहाँ कुनै केटाकेटी थिएनन्।

ठाइलो आरुबोटे बलबहादुर पनि जागिरको सिलसिलामा ओखलढुङ्गातिरै बस्नुभए पनि आफ्नो घर भने चिटिक्क पारेर रङ्गरोगन गरी असाध्यै राम्रो बनाउनुभएको रहेछ।

गाउँका पुराना र पाका उमेरका, जसलाई सम्पूर्ण गाउँलेले आदर र सम्मान गर्थे, ती अमरबहादुर (माइला बा) खसेर भर्खरै काजक्रिया र काम सकिएको रहेछ। गाउँका सबैले मान्ने बडाबाको निधन भएकाले यसपालिको दसैँमा सम्पूर्ण गाउँ नै शोकमा डुबेको जस्तै थियो। चाडबाडको त्यो खासै रमाइलो रौनक थिएन।

चारघरे कमला र हरिप्रसाद दाजु-भाउजू भदौरेको खेतमा धान काट्न जाने तरखरमा हुनुहुन्थ्यो। बाटोमा हँसिया र डोको बोकेर भदौरे खेततिर झर्दै गर्दा उहाँहरूसँग भेट भयो।

‘गाउँमा मान्छे कोही छैनन्, खेताला खोज्दा पनि पाइँदैनन्,’ भन्दै चिन्ता र गुनासो पोख्दै उहाँहरू ओरालो झर्नुभयो। म तिलबारी कान्छा कृष्णका दाइ-भाउजूसँग पुगेर टीका र आशीर्वाद लिएँ।

त्यसपछि म खाल्लेको घरतिर सोझिएँ—त्यो घर, जहाँ म बाल्यकालमा धुलो उडाउँदै खेलेर हुर्केको थिएँ। तर आज त्यो घरअगाडिको आँगन र चउर पूरै झार र घाँसले भरिएर जङ्गल बनेछ।

म पुग्दा खाल्लेको चउरमा तीन-चारवटा मृगहरू मज्जाले चरिरहेका रहेछन्। मलाई देखेपछि ती मृगहरू बुरुक्क उफ्रेर नजिकैको बाँसको झ्याङतिर भागे। खाल्लेका घर र मतानहरू सबै खाली र सुनसान थिए।

मतानको तलामाथि चढेर नियालेर हेरेँ—त्यहाँ त राति मृगहरू आएर बस्दा रहेछन् ! भुइँभरि मृगका बर्कुडा र खोस्रेर बनाएका साना-साना खाल्डाहरू थिए।

करिब एक वर्षपछि म आफ्नो घर पुगेको थिएँ। घरको आँगनमा झार मार्ने ओखती बुवाले छर्कनुभएको रहेछ। त्यसैले झारहरू केही मर्दै थिए। बारीभरि कागतीका बोटहरू टन्नै फलेका थिए, तर घरवरिपरि भने बाँदरका ठूला-ठूला बगालहरू मात्रै घुमिरहेका थिए।

असाध्यै मुस्किलले सहरको व्यस्तताबाट फुर्सद मिलाएर गाउँ आएको थिएँ, तर घरमा कसरी एकै ठाउँमा मात्रै बसिरहनु ! काउराबोटे ठूल्दाइ के गर्दै छन् भनेर हेर्न गएँ। सूर्य ठूल्दाइ मधेस-तराईतिर रहनुभएका बाबुआमालाई भेट्न जानुभएको रहेछ।

काउराबोटे कान्छाको कान्छो छोराले ताप्लेजुङतिरकी मगरकी छोरी बिहे गरेर ल्याएको रहेछ। दाजुभाइलाई खुसीको भोज खुवाउनुपर्छ भनेर उहाँ खसी खोज्दै हुनुहुन्थ्यो। मैले ती नवदम्पतीलाई बधाई, शुभकामना र आशीर्वाद दिएँ।

त्यसपछि वनपाले काका-काकीको हातको टीका थाप्नुपर्‍यो भनेर वनपालेतिर लागेँ। त्यो दिनको खाना-खाजा मैले उहाँहरूकै घरमा खाएँ। भाइ दीपक दिक्तेलको भानु माध्यमिक विद्यालयमा शिक्षकको काम गर्छ। ऊ पनि परिवारसहित बिदा मनाउन र दसैँको टीका थाप्न गाउँ आएको रहेछ।

गाउँमा गफगाफ गर्दागर्दै घर फर्किँदा राति भइसकेछ। बुवा र मम्मी पनि भर्खरै काठमाडौँबाट गाउँ जानुभएको थियो। बुवा भन्नुहुन्छ, ‘यदि बिरामी परेर अस्पताल धाउनु र उपचार गर्नु नपर्ने हो भने त गाउँ नै स्वर्गजस्तै रमाइलो छ नि !’

भोलिपल्ट बिहान गाउँमा चिसो र जाडो निकै बढिसकेको थियो। भुइँमा तुसारो र शीतका थोपाहरू टल्किरहेका थिए। म बस्नेतको पसल डाँडातिर गएँ। बस्नेत दाइ र भाउजू जुठो परेका कारण यसपालि दसैँ मनाउन पाउनुभएको रहेनछ। पल्लो घरका विकास काठमाडौँमा बस्न गइसकेछन्। पूर्णबहादुरले गोठमा गाई र बाख्राहरू बाँधेका रहेछन्।

मैले बाल्यकालका गुरु लोकनाथ बुढा सरको घरवरिपरि हेरेँ र केही सम्झनाका भिडियोहरू खिचेँ। महाप्रसाद सरको घरवरिपरि पनि पूरै झारजङ्गल उम्रेर उजाड भइसकेछ। लीला र सुशीला भाउजूहरू अस्ट्रेलियातिर गइसकेका रहेछन्। शान्तिरामको परिवार भने आफ्नै धुनमा मोबाइलमा व्यस्त थियो। उहाँहरूसँग चिया खाएर एकछिन कुराकानी गरी म अघि बढेँ। डम्बरेको घर त पूरै खाली र सुनसान थियो।

दिउँसो मलाई पहिले हामी खेल्ने ‘मुजुर नाच्ने डाँडा’ र सालघारी कस्तो भएछ भनेर हेर्ने उत्सुकता जाग्यो। घरमुनिबाट डाँडैडाँडा ओरालो झरेँ। बाटो त पूरै मासिइसकेछ ! ठूला-ठूला खरकी र खरका बोटहरू समाउँदै, अठ्याउँदै बल्लबल्ल बर्खेको धारामा पुगेँ।

पहिले सिँचाइका लागि ल्याइएको विकासे कुलो, त्यसैको बाटोबाटो हिँडौँला भनेको त कुलो पूरै मासिएछ। बालुवा डाँडाको त्यो ऐतिहासिक आहाल हेर्न गएँ, जहाँ पहिले भैँसीहरू पौडी खेल्थे र पानी पिउँथे। भैँसी हिँड्ने बाटो अहिले झाडी नै झाडी भएर हिँड्नै नसकिने बनेछ।

खम्र्याङखुम्रुङ गर्दै उत्तिस्ने खोलैखोला हामफाल्दै, ठूलाखेतबाट सिस्नेको कुलैकुलो, पछि बिरौटो खेतबाट खरबारी-खरबारी हुँदै देउराली वर र टुनिबोटे निस्किएँ।

बाटोभरि जङ्गलैजङ्गल थियो र मान्छेको साटो केवल बाँदरहरू मात्रै भेटिन्थे। बिरौटाको झाडीमा एउटा दुम्सी काँढा फिजाउँदै भागेको दृश्य पनि प्रत्यक्ष देख्न पाइयो।

कुमार दाइ हल गोरु चराउन भिरैभिर हामफाल्दै टुनिबोटे झर्नुभएको भेटेँ। बाँदरले बालीनाली पूरै सखाप पार्ने भएकाले बाँदर धपाउन बिमला काकीले मान्छेको जस्तै आकृति बनाएर धान खेतको बीचमा जलुङ्गो (बुख्याँचा) ठड्याउनुभएको रहेछ।

गल्लीमुनिको धान पाकेर पहेँलै भई झिरिप्प भएको थियो। गल्लीमुनि भाउजूले भैँसी पाल्नुभएको रहेछ। उहाँले टीका लगाइदिनुभयो।

भाउजूका चारैवटा छोरीहरू, जुवाइँ र नातिनातिनाहरू घरमा आएका रहेछन्। भाउजूले अलि उदास हुँदै भन्नुभयो, ‘दुई-चार दिनलाई त घरमा भरिभराउ छ, कम्ती रमाइलो छैन। तर पर्सिदेखि सबै आ-आफ्नो बाटो लाग्छन्, अनि म त फेरि एक्लै हुने त हो नि !’

भाउजू भन्नुहुन्छ, राति मृगका बथानहरू आएर घरबारीमा लगाएको सिमी पूरै खाइदिएछन्।

वल्लो घरमा ‘ए सानेकी आमा, कता हो ?’ भनेर बोलाएँ। घरमा कोही रहेनछन्। प्रकाश दाइको घरमा नयाँ नातिनीबुहारी आएका भेटेँ। बढीआमाले टीका लगाई आशीर्वाद दिनुभयो।

गाउँभरि अम्बक (अम्बा) पाकेका थिए। सुन्तला र जुनार रूखैमा पहेँलपुर हुन थालेका थिए। वास्तवमा दसैँको समयमा दुई-चार दिनका लागि त गाउँ अति नै रमाइलो महसुस हुन्छ।

टारी माधवको सम्पूर्ण परिवार नै सहरतिर बस्ने गर्नुहुन्छ। उहाँहरूको खेतबारी हेरेँ। सबै बाँझै थिए र घरवरिपरि झारजङ्गलले ढाकेको थियो।

काइलाका घरपर्तिर पानी बाँसको धारा, कति मिठो पानी छ ! दुई-चार अँजुली पिएँ। सुरेशले ‘यो पानी संरक्षण गर्न एउटा योजना पारेर ट्याङ्की बनाउनुपर्छ है’ भनेको सम्झेँ।

वडाध्यक्ष सीताराम दाइ कता जानुभयो भनेर बोलाएँ, तर घरबाट कोही बोलेनन्। डोको बोकेर यसो उँधोतिर लाग्नुभएको थियो रे। तैपनि उहाँको घरवरिपरिको वातावरण एकदमै सफासुग्घर पारिएको थियो, जसले ‘गाउँमा अझै मान्छेहरू छन् है’ भन्ने भान गराउँथ्यो।

घरअगाडि सुन्तलाहरू पाक्न थालेका थिए। बाबुराम दाइ मिल चलाइरहनुभएको आवाज आए पनि प्रत्यक्ष भेट हुन सकेन। केदार दाइको घरमुनि लटरम्मै अम्बक पाकेका रहेछन्।

गाउँको पुरानो ‘रक्तमाला स्कुल’ को बारेमा सोधीखोजी गरेँ। विद्यार्थीहरू एकदमै थोरै भएकाले विद्यालय चलाउन समस्या परिरहेको कुरा सुनेँ।

जङ्गलेका अजपे, बिर्खे, चन्द्रे, डाँडाघरे, कुलामुनि कान्छा, गुरुङ भोला, साइलो, शंकरेको सोधीखोजी गर्दै हालखबर बुझेँ। विदुर र दिनेश बस्नेतले आफ्नो पूरै जग्गामा कफी खेती गरेका रहेछन्। दीपक कटवालले पनि वस्तुभाउ र खेतीपाती निकै राम्रोसँग सम्हालेका रहेछन्।

कल्चउर डाँडाबाट कुडुलेतिर हेरेँ। पूरै घरहरूका फुस्रा छाना। कान्छी आमा मात्रै छन् रे घरमा, अरू खाली भए रे।

समयमा पानी नपरेका कारण गाउँका धेरै पाखो खेतहरू भने बाँझै थिए। सिम्मारी जेठा र कान्छालाई भेट्ने समय भने मिलेन। उमा र रेणुलाई भेटेर हालखबर सोधेँ। सिम्मारी कान्छी आमै बिरामी परेकाले अस्पताल भर्ना गरिएको रहेछ।

काठमाडौँबाट गाउँ पुग्न पनि सजिलो कहाँ छ र ! बाटोको दुर्गति र हण्डर सम्झिँदा मन अमिलो हुन्छ। काठमाडौँबाट बालबच्चा लिएर रोशीको बाटो हुँदै धुलैधुलो, कच्ची र कठिन बाटोमा सुमो गाडी चढेर आएकी सविताले बाटोको दुःखको ठूलो गुनासो गरिन्। सकुन्तला र उनका श्रीमान् जुवाइँ मोटरसाइकलमा बल्लबल्ल धौधौले गाउँ आइपुगेका रहेछन्।

गाउँकी काइली आमा पनि अब त धेरै बूढी हुनुभएछ। उहाँले पुराना कुरा सम्झिँदै भन्नुभयो, ‘मेरो १३ वर्षको उमेरमा बिहे भएको हो। अचेल त बाँदरले गाउँमा बस्नै दिएन, बचेखुचेको बाली मृगले खाइदिन्छ। खेतमा काम गरौँ भने खेताला पाइँदैनन्। स्वती खेत पहिले कस्तो हराभरा थियो, हेरिस् होला नि, अहिले त पूरै जङ्गल भइसक्यो। जङ्गल बढेकाले डाँडातिर जानै सकिने अवस्था छैन।’

उहाँले थप्नुभयो, ‘अचेल त सहरबाट ठूला-ठूला रुखहरू किन्न मान्छेहरू आउँछन्।’

हरिप्रसादले सालघारीमा घाँस काट्दाकाट्दै चितुवा देखेका रहेछन् ! मान्छेको उपस्थिति घटेपछि अब गाउँमा जङ्गली जनावरको आतङ्क यसरी बढेको छ, नरेश दाइले सुनाउनुभयो।

कोइराला कृष्ण पनि बिदा सकिनेबित्तिकै काठमाडौँ फर्किहाल्नुहुन्छ। आरुबोटे फत्त र मिनाहरू पनि दसैँ सकिनेबित्तिकै काठमाडौँ जाने तयारीमा छन् रे।

गाउँमा ‘सिद्धेश्वर महादेवको मन्दिर’ भने नयाँ बन्दै गरेको रहेछ, जुन निकै राम्रो र भव्य देखिएको थियो। मन्दिरको रङ्गरोगन गर्न र मूर्ति स्थापना गर्न भने बाँकी नै रहेछ। तर नजिकैको युवा क्लबको भवन बेवारिसेजस्तै अवस्थामा देखेँ।

गाउँका तिलबारी, गुणराज, सूर्यप्रसाद र केदार पुरोहित्याइँ (पूजापाठ) गर्ने काम गर्छन्। तर गाउँका घरबाट धाउन गाह्रो र कठिनाइ भएकाले उनीहरू पनि अचेल रुम्जाटारतिरै बस्न थालेका रहेछन्।

रानीवाराको बाटो त यति बिग्रिएको छ कि हिँडिनसक्नु छ। मल्या भिरवारिबाट हेर्दा पूरै उजाड देखिन्थ्यो। सम्पूर्ण पाखा र भिरलाई जङ्गलले ढाकिसकेको छ।

विडम्बना के छ भने अहिले गाउँका प्रत्येक घरघरमा छुने गरी कच्ची सडक पुगेको छ। सहरमा बरु बत्ती (बिजुली) जान्छ, तर गाउँमा चौबीसै घण्टा बिजुलीबत्ती रहन्छ। सुविधाका हिसाबले भौतिक विकास त पुगेको छ, तर ती सुविधा उपभोग गर्ने मान्छे नै गाउँमा बाँकी छैनन्।

तिलबारी नन्दराज दाइले भावुक हुँदै भन्नुभयो, ‘भाइ ! दसैँ-तिहारमा तिमीहरू गाउँ आउँछौ र दुई-चार दिन गाउँ रमाइलो देखिन्छ। अरू बेला कोही बिरामी पर्दा “ए, छिटो आओ न” भनेर बोलाउँदा सहयोग गर्ने कोही मान्छे हुँदैनन्। अनि वसन्त ऋतुमा “कुहु कुहु” कराउने कोइलीको आवाज र बाँदरले “चिहि चिहि” गरेको सुन्दा पहिलेको भरिभराउ गाउँ सम्झेर बडो विरक्त लाग्छ भाइ !’

बाहिरबाट हेर्दा र सम्झिँदा त गाउँ कति हो कति रमाइलो लाग्छ ! दुई-चार दिन घुम्न, बस्न, रमाउन, जतासुकै हरियाली देख्न पाइन्छ। यताउता छरछिमेकमा जाँदा ‘आइज, बस, खा’ भनेर आत्मीयताका साथ बोलाउँछन्। वरपर हिँड्दा मान्छेभन्दा बढी बाँदर, मृग र दुम्सीसँग ठोक्किने स्थिति छ।

गाउँघरमा गाडी पुगेको छ, चौबीसै घण्टा बत्ती छ, घरघरमा धान-मकै पिँध्ने मिल छन्। विदेशमा गएका छोराछोरीको जागिर छ, पैसाको पनि खासै खाँचो छैन। बाहिरबाट हेर्दा कति सुन्दर गाउँघर !

गाउँमा खेतीपाती गर्न र वस्तुभाउ (गाई, भैँसी, बाख्रा) पाल्न मान्छे नै छैनन्। उमेर ढल्किसकेका वृद्धवृद्धाले मात्रै घाँस काटेर, गोबर सोहोरेर, गोरु वा बाख्रा पाल्न सक्ने सामर्थ्य छैन। दुःख गरेर खेती लगायो भने पनि बाँदर, बँदेल र दुम्सीले रातारात खाइदिन्छन्।

गाउँ पुग्ने सडक त बनेका छन्, तर ती सडकहरू अत्यन्त भिराला छन्। वर्षामा पहिरो जान्छ र गाडी समयमा पाइँदैन-सडक नाम मात्रको छ।

चाडबाड सकिएपछि फेरि गाउँ उही सुनसान र विरक्तलाग्दो मौनतामा फर्किन्छ। बाल्यकालको त्यो चहलपहल, साथीभाइको हाँसो र भरिभराउ बस्ती सम्झिँदा आजको उजाड गाउँ देख्दा मनै अमिलो भएर आउँछ।

साँच्चै, दुई-चार दिन घुम्न र डुल्न जानेलाई रमाइलो लाग्ला। त्यहीँ बसेर खेतीपाती गर्ने, अरू आम्दानी गर्न नसक्नेलाई विरक्त लागेका छन् हो गाउँ पनि !

0 Comments