काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी नगरी मुद्दाको अन्तिम सुनुवाइबाटै विवादको निरूपण गर्ने आदेश दिएको हो ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा। मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबारको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्कालका लागि कायम रहने भएको छ । नियुक्ति तथा सरुवासम्बन्धी विवादको अन्तिम निरूपण भने रिटको अन्तिम सुनुवाइबाट हुनेछ ।








