काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
राष्ट्रिय युवा संघ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको संयुक्त आयोजनामा आज बेँसीसहर नगरपालिका-७ मा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले युवाहरू राजनीतिबाट टाढिन नहुने धारणा राखे ।
महासचिव पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै राजनीतिलाई बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवाहरूलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारलगायत क्षेत्रमा विकासलाई तीव्रता दिन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्ने उनले बताए ।
देशको आर्थिक तथा रोजगारीको अवस्थाबारे चर्चा गर्दै पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढिरहेको बताए । कृषि पेसाबाट बाहिरिने जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको उनको भनाइ छ ।
स्वदेशमा रोजगारीका अवसर सृजनाका लागि निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेकामा महासचिव पोखरेलले जोड दिए । ती क्षेत्रको पर्याप्त विस्तार हुन नसक्दा नागरिकले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको उनले उल्लेख गरे ।





