काठमाडौँ । दक्षिण कोरियाको मुख्य शेयर बजारमा शुक्रवार बिहानै भारी गिरावट आएपछि ‘सर्किट ब्रेकर’ सक्रिय गरिएको छ ।
प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा व्यापक विक्री भएपछि कोस्पी परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको हो, जसका कारण बजारको कारोबार २० मिनेटका लागि स्थगित गर्नुपरेको थियो ।
शुक्रवार बिहान बजार खुलेको तीन मिनेटमै कोस्पी परिसूचक ८.५५ प्रतिशत अर्थात ४६०.३३ अंकले गिरावट आएर ४,९२३.४७ विन्दुमा पुगेको थियो । यो गिरावटसँगै सूचकांक करिव नौ महिनायता पहिलो पटक ५,००० को मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ । यसअघि फेब्रुअरी ६ मा बजार यति कमजोर देखिएको थियो ।
मुख्य बजारमा सर्किट ब्रेकर लागेलगत्तै प्राविधिक सूचकांक केस्डाक पनि ६.७९ प्रतिशतले ओरालो लागेको थियो । कारोबार पुनः सुचारु भएपछि पनि बजारमा बिक्रीको चाप कायमै रहेकाले बिहान ९:३४ बजे ‘सेल साइडकार’ अर्डर जारी गरी प्रोग्राम ट्रेडिङमा रोक लगाइएको थियो । यस आकस्मिक गिरावटको मुख्य कारण अमेरिकी बजारमा देखिएको प्रविधि क्षेत्रको उच्च बिक्रीलाई मानिएको छ । अमेरिकी मध्यावधि निर्वाचनपश्चात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टरहरूमाथिको नयाँ नियामक दबाब बढ्ने डरले लगानीकर्ताहरू त्रसित बनेका छन् ।
सोही प्रभावस्वरूप कोरियाली बजारका ‘मेमोरी चिप’ निर्माता कम्पनीहरू सामसङ इलेक्ट्रोनिक्सको सेयर मूल्य ९.९८ प्रतिशत र एसके हाइनिक्सको मूल्य ११.७१ प्रतिशतले घटेको छ ।





