काठमाडौँ । आगामी निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण र पुनरावलोकन गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय बाराले सर्वदलीय बैठक आह्वान गरेको छ ।
जिल्लाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन गरी आवश्यक सिफारिस गर्न राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्तर्गत गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बस्न लागेको हो ।
बैठक आगामी कात्तिक २७ गते शुक्रबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजना हुने जनाइएको छ ।
बैठकमा जिल्लामा क्रियाशील सबै राजनीतिक दलका जिल्ला प्रमुख वा एक जना प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरिएको छ ।
निमित्त जिल्ला निर्वाचन अधिकारी मुकेशकुमार सिंहले कात्तिक २० गते जारी गरेको पत्रमार्फत बैठकमा सहभागिताका लागि राजनीतिक दलहरूलाई औपचारिक अनुरोध गरेका हुन् ।






