काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति धनराज गुरुङले दीपावलीको अवसरमा भ्रष्टाचारका पुराना प्रकरणहरूको छानबिन र दोषीमाथि कारबाहीको अपेक्षा व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै गुरुङले दीपावलीको उज्यालोसँगै विगतमा लुकाइएका भ्रष्टाचारका फाइलहरू पनि बाहिर आउनुपर्ने धारणा राखेका हुन्।
‘दीप यसरी प्रज्वलित होस् कि देशै उज्यालो होस्,’ गुरुङले लेखेका छन्, ‘उज्यालोमा विगतमा अँध्यारोमा लुकाएर राखेका सबै भ्रष्टाचारका काण्डका फाइलहरू देखियोस्।’
उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउनुपर्ने सन्देशसमेत दिएका छन्। भ्रष्टाचार गर्नेहरूलाई लक्षित गर्दै गुरुङले ‘काम्लो ओढेर घिउ खानेहरू सबै जेलतिर भेटियोस्। तब न दीपावली १’ भन्ने अभिव्यक्ति दिएका हुन्।
गुरुङले आफ्नो शुभकामना सन्देशमा कुनै निश्चित व्यक्ति वा भ्रष्टाचार प्रकरणको नाम भने उल्लेख गरेका छैनन्।
उनको अभिव्यक्तिमा दीपावलीलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको कारबाहीको अपेक्षासँग जोडिएको छ।
गुरुङले भ्रष्टाचारका प्रकरणहरू सार्वजनिक हुने र संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही हुने अवस्थाले मात्रै सुशासनप्रतिको जनअपेक्षालाई सम्बोधन गर्ने आशय व्यक्त गरेका छन्।





