झापा । सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।
काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा उक्त फूलमाला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिएका छन् ।
उहाँका अनुसार आज रु १४ लाख १५ हजार ३०० र सोमबार रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरका फूलमाला बरामद गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गर्दै आएको छ । प्रशासनले अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।
यसैबीच, झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका-१० स्थित स्वास्थ्य चौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १० जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र रु ८९ हजार ७१० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसै गरी, कमल गाउँपालिका-५ स्थित गीता भट्टराईको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा घरधनी भट्टराईसहित १२ जनालाई पक्राउ गरिएको बुढाथोकीले जानकारी दिएका छन् ।
उनीहरूको साथबाट पाँच बुङ तास र नौ थान मोबाइल बरामद भएको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।





