विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले प्रदेशको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै आजदेखि प्रत्येक वर्ष कात्तिक २५ गते भाषा दिवस मनाउने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति, समाज सुधारक तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्तीका अवसरमा महागुरु लिङ्देनप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना दिएका हुन ।
प्रदेशमा बोलिने विभिन्न भाषा तथा मातृभाषाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन आजैदेखि कार्यान्वयनमा ल्याउने घोषणा गर्दै मुख्यमन्त्री कार्कीले सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर फाल्गुनन्दले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेदको अन्त्य गर्न उनको योगदान उच्च रहेको बताए ।
मुख्यमन्त्री कार्कीले सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणका लागि महागुरु फाल्गुनन्दले पुर्याएका योगदान अतुलनीय छ भन्दै सत्य, शान्ति, मानवता र समाजिक सुधारको मार्ग तथा उनका अमूल्य शिक्षाहरू आज पनि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको जनाए ।





