काठमाडौँ । भाइटिकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बुधबार विशेष पूजा तथा टीका लगाइएको छ। वर्षमा एक दिन भाइटिकाका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने मन्दिरमा भक्तजनले पूजा आराधना गर्दै टीका लगाएका हुन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन खुल्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा विशेष गरी दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ टीका लगाउन पुग्ने परम्परा छ।
यस वर्ष पनि भाइटिकाका अवसरमा मन्दिर सर्वसाधारणका लागि खुला गरिएको थियो। मन्दिर पुगेका भक्तजनले विधिपूर्वक पूजा आराधना गर्दै भाइटिका लगाएका छन्।
नेपाली समाजमा भाइटिकालाई दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीकका रूपमा लिइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने प्रचलन छ।
आफ्ना दिदीबहिनी वा दाजुभाइ नभएकाहरूले समेत भाइटिकाको परम्परा निर्वाह गर्न सकुन् भन्ने मान्यतासँग रानीपोखरीको बालगोपालेश्वर मन्दिर जोडिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो मन्दिर वर्षभरि बन्द रहने र भाइटिकाका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने विशेष परम्पराका कारण पनि परिचित छ।





