काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
६ खेलबाट चार अंकसहित छैटौँ स्थानमा रहेको जनकपुर पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ । जित हात पारे पनि प्लेअफमा पुग्न उसले अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।
पाँच खेलबाट पाँच अंक जोडेको चितवनले जनकपुरपछि कर्णाली याक्ससँग खेल्नेछ । दुवै खेल जिते चितवनको नौ अंक पुग्नेछ । जनकपुरविरुद्ध चितवन विजयी भए चार अंक रहेको कर्णाली पनि एक खेल बाँकी छँदै प्लेअफ दौडबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा चितवन, काठमान्डु गोर्खाज र विराटनगरमध्ये दुई टोलीले प्लेअफका बाँकी स्थान हात पार्नेछन् ।
दुवै टोलीले खेल्ने एघारमा एक–एक परिवर्तन गरेका छन् । जनकपुरले अनिल साहको ठाउँमा सन्तोष कार्कीलाई मौका दिएको छ । चितवनले डान मोस्लीको स्थानमा डाविड मलानलाई फर्काएको छ ।
लुम्बिनी र सुदूरपश्चिमले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् । पोखरा एभेन्जर्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ ।





