काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीस्थित एक होमस्टेमा कौडा खेलिरहेको आरोपमा प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले त्यहाँबाट ५ लाख ७८ हजार ५५५ रुपैयाँ र १६ वटा कौडा बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोली बिहीबार करिब ५ बजे ‘कुसुम छ्याम्बा हाउस र होम सल्टे’ पुगेको थियो । पक्राउ परेकामध्ये होमस्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासहित ३० जना गागलफेदीकै बासिन्दा हुन् ।
जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिएर पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।






