काठमाडौँ । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भिरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बमले जानकारी दिए ।
उनका अनुसार भिरबाट लडेर दुई जना घाइते भएका भन्ने खबर पाउनासाथ तत्काल प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरीदत्त भट्टको कमाण्डमा तीन जनाको टोली खटिएर उद्धार गरिएको थियो ।
घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपश्चात गणेश डिस्चार्ज भएका बताउँदै बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मंगललसेन पठाएइकामा उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिए ।
बिर्खेको, अनुहार, छाती र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको उनले बताए ।





