काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप-३१) मध्यावधिमा पुगेसँगै संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न वार्ताकारहरूलाई आग्रह गरेका छन् ।
टर्कीको तटीय शहर अन्टाल्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिलले जलवायु परिवर्तनका जटिल मुद्दामा सहमति जुटाउन सबै पक्षले लचकता र सम्झौताको भावना देखाउनुपर्ने बताएका हुन् । उनले वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु कठिन भएपनि सामूहिक उपलब्धिका लागि त्यो आवश्यक रहेको बताए । सबै पक्षबीच सम्झौता र सहकार्य हुन नसके साझा सफलता सम्भव नहुने उनको भनाइ छ ।
स्टिलले भने, ‘प्रत्येक शब्द र प्रत्येक वाक्यमा सहमति जुटाउनु कठिन तर महत्त्वपूर्ण काम हो । सबै पक्षले सम्झौता र लचकता नदेखाए सामूहिक सफलता सम्भव हुँदैन ।’
उनकाअनुसार कोप–३१ मा व्यावहारिक जलवायु पहलहरूले गति लिइरहेका छन् । अन्तर्राष्ट्रिय सम्झौता र वास्तविक अर्थतन्त्रबीचको दूरी कम गर्दै स्वच्छ ऊर्जा, जलवायु प्रतिरोधी पूर्वाधार, हरित उद्योग र विपद् उत्थानशीलताका क्षेत्रमा काम अघि बढाउनुपर्ने उनले बताए । जलवायु परिवर्तनविरुद्धको अभियानलाई सफल बनाउन सरकारी तहका सम्झौता र नीतिमा मात्रै सीमित नराखी विश्वभरका अर्बौँ मानिसको दैनिक जीवनसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए । खेलकुद, मनोरञ्जन र संस्कृतिजस्ता क्षेत्रमार्फत जलवायु परिवर्तनका असर र त्यसको समाधानबारे सर्वसाधारणलाई जोड्न सकिने उनको भनाइ छ ।
स्टिलले भने, ‘जलवायु परिवर्तनका असर र त्यसका समाधानलाई मानिसका आधारभूत आवश्यकतासँग जोड्न हामी अझ प्रभावकारी हुनुपर्छ। राम्रो स्वास्थ्य, रोजगारी र सस्तो तथा भरपर्दो ऊर्जाजस्ता आवश्यकतासँगै उनीहरूले मन पराउने खेलकुदजस्ता विषयसँग पनि जलवायु अभियान जोड्नुपर्छ ।’
सोमवारदेखि शुरु भएको कोप–३१ दुई सातासम्म सञ्चालन हुनेछ । आगामी नोभेम्बर २० सम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनविरुद्धका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । विशेषगरी विकासशील राष्ट्रका लागि जलवायु वित्त विस्तार, जलवायु अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउने र स्वच्छ ऊर्जातर्फको संक्रमणलाई तिब्रता दिने विषय सम्मेलनका प्रमुख एजेन्डा रहेका छन् । सम्मेलनको मध्यावधिसम्म आइपुग्दा वार्ताकारहरूलाई कठिन विषयमा छिटो सहमति जुटाउन गरिएको आग्रहले बाँकी अवधिमा जलवायु वित्त, अनुकूलन र ऊर्जा संक्रमणसम्बन्धी निर्णयलाई विशेष महत्त्व दिने देखिएको छ ।





