काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उनले स्पष्ट पारेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले नेपालको परराष्ट्र नीतिमा रास्वपाले कुनै विचलन आउन नदिने बताए। उनले रास्वपाले कूटनीति तथा विदेश नीतिका विषयमा पार्टीको छुट्टै दृष्टिकोणभन्दा पनि राज्यले अवलम्बन गरेको नीतिलाई नै आफ्नो नीति मान्दै आएको उल्लेख गरे ।
सभापति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले विभिन्न सार्वजनिक मञ्चमा नेपालको राज्यनीतिप्रति प्रतिवद्धता व्यक्त गर्दै आएको उल्लेख गरे। चीनसँगको सम्बन्धलाई विश्वास र आत्मीयताका आधारमा थप मजबुत बनाउनु भ्रमणको अर्को उद्देश्य रहेको उनले बताए। दुई देशबीचको विशिष्ट सम्बन्धमा कुनै प्रकारको आँच नआओस् भन्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुने उनको भनाइ छ ।
यसैबीच, प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० तथा नेपालसँग जोडिएका संवेदनशील विषयमा अध्ययन गरेर मात्रै धारणा राख्न निर्देशन दिएको विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा आचार्यले प्रधानमन्त्री बालेन्द्र साहले बीआरआईबारे नबोल्न वा कुनै विषयमा धारणा नराख्न निर्देशन नदिएको स्पष्ट पारे । बरु, सत्तारुढ दलको प्रतिनिधिमण्डलका रूपमा विदेश भ्रमणमा जाँदा उठाइने विषयले सरकार र राज्यको धारणा पनि प्रतिनिधित्व गर्ने भएकाले सबै विषयमा पर्याप्त अध्ययन गर्न आग्रह गरेको उनले बताए। बीआरआई, सीमा तथा दुई देशबीचका अन्य संवेदनशील विषयमा सरकारको दृष्टिकोणअनुसार नै प्रतिनिधिमण्डलले आफ्नो धारणा राख्ने आचार्यको भनाइ छ ।
आचार्यले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले कूटनीति तथा परराष्ट्र नीतिका सन्दर्भमा सधैँ राज्यको नीतिलाई नै आफ्नो नीति मान्दै आएको छ । नेपालको आधिकारिक परराष्ट्र नीतिप्रति हामी हिजो पनि प्रतिवद्ध थियौँ, आज पनि छौँ र भविष्यमा पनि त्यसबाट विचलित हुने छैनौँ । चीन भ्रमणका क्रममा हुने भेटघाट र छलफलले दुई देशबीचको विश्वास, आत्मीयता र सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेका छौँ । प्रधानमन्त्रीज्यूले प्रतिनिधिमण्डललाई छिमेकी राष्ट्रसँग जोडिएका संवेदनशील विषयहरूमा पर्याप्त अध्ययन र तयारी गरेर राज्यको प्रतिनिधित्व हुनेगरी आफ्ना धारणा राख्न निर्देशन दिनुभएको हो । बीआरआई, सीमा तथा अन्य द्विपक्षीय विषयमा पनि सरकारको आधिकारिक धारणा र राज्यको नीतिअनुसार नै हाम्रो प्रस्तुति रहनेछ । भ्रमणका क्रममा बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो तहको नेतृत्वसँग भेटघाट तथा छलफल हुनेछ । नेपाल–चीन सम्बन्धका बहुआयामिक पक्ष, राजनीतिक सहकार्य र ज्ञान आदानप्रदानलगायतका विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।’
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवस्तरमा भेटवार्ता सम्भव नभए पनि दोस्रो तहको नेतृत्वसँग छलफल हुने उनले जानकारी दिए। चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव नै चीनको राष्ट्रपति रहने भएकाले त्यसपछिको तहका नेताहरूसँग बेइजिङमा भेटवार्ता हुने उनको भनाइ छ । भेटवार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न आयाम, राजनीतिक सहकार्य र अनुभव तथा ज्ञान आदानप्रदानका विषयमा छलफल हुने उनले बताए। रास्वपा आगामी दिनमा नेपालको राजनीतिक यात्रामा विश्वसनीय राजनीतिक शक्तिका रूपमा अघि बढ्ने क्रममा दुई देशका सत्तारुढ दलबीचको सम्बन्धलाई पनि थप संस्थागत गर्न चाहेको आचार्यले उल्लेख गरे। रास्वपाको करिव २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि चीन गएको हो । भ्रमणका क्रममा राजनीतिक सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।





